धनराज वास्तविक : काठमाडौं, ३० चैत । समय परिवर्तनशील छ । गतिशिल समयको लयसँग मानवजीवनले अनेकन प्रकारका मुकाबिलाहरुको सामना गर्नुपर्छ । जे हुन्छ राम्रै हुनको लागि हुन्छ भन्ने मान्यताको विमुखमा रहेर अभिव्यक्तिहरु प्रकट गर्ने कतिपय पलहरु आउदा रहेछन् । हामी नेपालीहरुले २०७४ सालमा पनि सुख र दुःखका श्रृङ्खला बराबरी रुपमा सामना गर्नुपर्यो ।
६० वर्षको लगानीपछि मुलुकले गणतान्त्रिक संविधानको कार्यान्वयन गर्ने सुनौलो अवसर पायो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो । बिसौ वर्षदेखि जनप्रतिनिधिविहिन स्थानीय तहले जनप्रतिनिधि प्राप्त गरेको छ ।
राजधानीमा रहेको सिंहदरवार गाउँमा पुगेको छ । कामना गरौं दरवार नपुग्ने तर सिंह बनेर मानिस वा जनप्रतिनिधि मात्रै पुग्ने नहोस् । जनताले यस्ता किसिमका आलोचना गर्न नपरोस् ।
यस वर्ष मुलुकले धेरै चर्चित व्यक्तित्वहरु गुमायो ।
पूर्व-प्रधानमन्त्री कीर्तिनिधि बिष्ट
कार्तिक २५ गते शनिबार बिहान पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको थियो । बिष्टलाई राजकीय सम्मानबिना नै शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्येष्टि गरिएको थियो ।
आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छा अनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टि गरिएको थियो । देशभक्त नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९१ वर्षको उमेरमा शनिबार बिहान साढे १० बजे आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको थियो ।
उनी लामो समयदेखि क्यान्सर रोगले पीडित थिए । प्रचारप्रसार र सार्वजनिक जीवनबाट टाढै बस्न रुचाउने उनले आफ्नो अन्त्येष्टि पनि सामान्य ढंगले होस् भन्ने चाहेका थिए ।
पञ्चायतकालमा तीनपटक प्रधानमन्त्री बनेका बिष्ट पटक–पटक मन्त्रिपरिषद् उपाध्यक्ष र उप–प्रधानमन्त्रीसमेत भएका थिए । पछिल्लो समय २०६१ सालमा ज्ञानेन्द्र शाहको शाही सरकारमा उनी तुलसी गिरीसँगै उपाध्यक्ष थिए ।
उत्तरी सीमाक्षेत्रमा राखिएका भारतीय सैन्य चेकपोस्टहरू हटाउने साहसिक निर्णय लिएको र सिंहदरबारमा आगलागी हुँदा नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका कारण इतिहासमा उनको बेग्लै छवि छ ।
वि.सं. १९८३ मा काठमाडौंको वटुमा जन्मेका विष्टको परिवार गोरखाको खोप्लाङबाट बसाइँ सरेर आएको थियो । राजनीतिशास्त्रमा एमए पढ्दै गर्दा उनी डिल्लीरमण रेग्मी नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध भएका थिए । उक्त पार्टीको महासचिवसम्म भएका विष्ट २०१७ सालपछि पञ्चायत प्रवेश गरेका थिए । ०१७ मा विष्ट जब दाङ, सल्यान र प्यूठान हेर्ने दौडाहा टोलीको अध्यक्ष बनाइए, राजा महेन्द्रसँग उनको पहिलो भेट त्यसैबेला भएको थियो ।
खुम बहादुर खड्का
कांग्रेस नेता खुमबहादुर खड्काको निधन पनि यसै वर्ष भयो । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा खडकाको २०७४ चैत्र १६ गते शुक्रबार साँझ सवा ५ बजे निधन भएको थियो ।
फागुन ४ गते सामान्य हृदयाघात भई नर्भिक अस्पताल भर्ना भएका खडकालाई फागुन ६ गते उपचारका लागि अपोलो लगिएको थियो ।
खडका मृगौला, छाती र नसासम्बन्धी रोगबाट लामो समयदेखि पीडित थिए । उपचारपछि सुरुमा अवस्था सामान्य रहे पनि बिस्तारै छाती र टाउकोमा समेत संक्रमण बढेको थियो ।
पछिल्लो एक सातादेखि उनको मृगौलाले समेत काम गर्न छाडेको थियो । खडकाको ३० महिनाअघि अपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो ।
खडकाको कांग्रेस प्रवेश विद्यार्थी जीवनबाटै भएको थियो । उनी राजनीतिमा लडाकु स्वभावका नेता थिए । मेलमिलापको नीति लिएर ०३३ साल पुस १६ गते बीपी कोइरालासँग स्वदेश फर्कने ५ नेतामध्ये खडका पनि थिए ।
बीपीसँग त्यतिबेला गणेशमान सिंह, शैलेजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाईं र खड्का थिए । यीमध्ये अब प्रसाईं मात्रै जीवित छन् । बीपीसँग स्वदेश फर्कंदा खड्का जम्मा २५ वर्षका थिए । त्यसपछिको प्रजातान्त्रिक आन्दोलनमा संघर्ष गर्दा खडका पटक–पटक गरी ८ वर्षभन्दा बढी जेल बसेका थिए ।
०४८ को परिवर्तनपछि उनी पार्टीमा प्रभावशाली नेताका रूपमा उदाएका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी सुरुवाती दिनदेखि नै मन्त्री भए । खडकाले गृह, जलस्रोत, निर्माण तथा यातायात मन्त्रालय सम्हाले । गिरिजाप्रसाद कोइरालाले वनमन्त्री बनाउँदा उनी असन्तुष्ट भई राजीनामा दिएका थिए ।
धर्म निरपेक्षता प्रति असहमति जनाउँदै पार्टीभित्रै उनले हिन्दु राज्य घोषणा गर्ने अभियान चलाउँदै आएका थिए ।
प्रकाश दाहाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको मंसिर ३, २०७४ मा निधन भएको थियो । छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्केका थिए । दाहाल झापाको बीएन्डसी अस्पतालको सातौं तल्लामा रहेको हेलिप्याडबाट छोरीज्वाइँसहित काठमाडौं आएका थिए ।
प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डका एकमात्र छोरा हुन् । बुवा प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए । २०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् । माओवादीले चलाएको सशस्त्र युद्धमा सानैदेखि लागेका दाहाल पार्टी महाधिवेशन आयोजक समिति सदस्य थिए । उनी बुबा पुष्पकमल दाहालको स्वास्थ्य, सुरक्षा र सञ्चार व्यवस्थापनमा खटिँदै आएका थिए ।
ईन्द्रबहादुर राई
नेपाली भाषामा तेस्रो आयाम र लिला लेखनको प्रवेश गराउने प्रसिद्ध साहित्यकार ईन्द्रबहादुर राईको ९१ बर्षको उमेरमा फागुन २२ मंगलबार निधन भएको थियो । नेपाली साहित्यमा नौलो प्रयोगका कारण चर्चित साहित्यकार राईका कठपुतलीको मन, कथास्था कथा सग्रह, आज रमिता छ उपन्यास जस्ता कृति सर्वाधिक मन पराईएको थियो ।
अंग्रजी साहित्यमा स्नातकोत्तर गरेका राईको जन्म बि.स १९८४ मा भारतको दाजिलिङ्मा नै भएको थियो । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि उनी प्राध्यापन क्षेत्रमा लागेका थिए । पहिलो संग्रहका रूपमा ‘विपना कतिपय’ सन् १९६१ मा आएको थियो । साहित्यकार राईले साहित्यको क्षेत्रमा नेपाल र भारत बीच पुलको काम गरेको उनलाई नजिकबाट जान्नेहरु बताउँदै आएका छन् ।
मनु ब्राजाकी
नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीका माघ १९, २०७४ मा निधन भएको थियो । बाज्राकीको ब्रेन स्ट्रोकका कारण निधन भएको थियो । बाज्राकी चर्चित नेता एवम् पूर्वमन्त्री शरदसिंह भण्डारीका काका हुन ।
नेपाली साहित्यमा लामो समयसम्म कथा लेखनमा सक्रिय ब्राजाकीको ७ वटा कथासंग्रह र गजलसंग्रहहरू प्रकाशित छन् । ब्राजाकीले मैनाली कथा पुरस्कार, ‘तिम्री स्वास्नी र म’ का लागि २०४६ सालको साझा पुरस्कार, आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार प्राप्त गरेका थिए ।
खुशीराम पाख्रीन
जनवादी गायक पाख्रीनको निधन स्व.प्रकाश दाहालको श्रद्धाञ्जली तथा चुनावी सभामा गीत गाउँदागाँउदै हृदयघातका कारण भएको थियो । चितवनको भरतपुरमा आयोजित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको श्रद्धाञ्जली तथा चुनावी सभामा गाँउदा गाँउदै असजिलो महशुस गरेपछि उनलाई अस्पताल लगिएको थियो ।
नारायणी सामुदायीक अस्पताल भरतपुर पु¥याईएका पाख्रीनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । यस्तै २०७४ ले गुमाएका व्यक्तिहरुमा बालकृष्ण थापा, विष्णुभक्त फुयाँल, प्रा.डा. गोविन्द शर्मा, शरद कुमार गौचन, प्रेमा शाही, चन्द्रराज शर्मा लगायत छन् ।