Logo

प्रदेश नं. ४ को प्रदेशसभा बैठक : विधेयक पारित



पोखरा, ३० चैत (रासस) : प्रदेश नं. ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवदेनसहित सो विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

प्रस्तावका पक्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र विपक्षमा राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका सदस्य रहनुभयो । उक्त प्रस्तावमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य मौन रहनुभयो ।

नियमापत्ति

बैठकमा प्रदेशसभा सदस्य कुमार खड्काले जनताका समस्या र सरोकारका विषयलाई शून्य एवम् विशेष समयमा व्यक्त गरिएका विषयमा सम्बन्धित मन्त्रीले एक हप्ताभित्रमा सम्बोधन गर्नुपर्ने व्यवस्था भए पनि १४ दिन बितिसक्दा पनि जवाफ आउन नसकेको भन्दै नियमापत्ति गर्नुभयो ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभामा उठेका जनताका समस्यालगायतका विषयमा उठेका विषयमाथि आगामी बैठकमा सम्बोधन हुने जानकारी गराउनुभयो । बैठक आगामी वैशाख ३ गते २ बजे बस्नेछ ।
–––



प्रतिक्रिया दिनुहोस्