Logo

गुमेको विश्वसनियता फर्काउन अहिलेको सरकारले काम गर्नुपर्छ



रामेश्वर खनाल-२०७४ सालले ठूलो राजनीतिक परिवर्तनलाई संस्थागत गरेको छ । अब २०७५ सालमा धेरै आशा गर्न सकिने ठाउँ छन् । तर विगतमा पनि यस्ता आशा गर्न लायक वर्षहरु नेपालको इतिहासमा पटकपटक आए । आम नागरिकका ति आशा पूरा हुन सकेनन् ।

विगतमा कहाँ चुकियो, आशा गरिएको वर्षमा पनि किन काम हुन सकेन भन्ने कुरालाई मनन गरेर काम गर्ने हो भने वर्ष २०७५ सफल हुन सक्छ । तर सरकारमा बहुमतको उन्माद चढ्यो र हामीले भनेको सबै ठीक, अरुले भनेको बेठीक भन्ने सोच सरकारले राख्यो भने सफल नहुन सक्छ ।

मुलुकका महत्वपूर्ण रणनीतिक आयोजनाहरु सम्पन्न हुन सकेनन् भने हामीले विगतकै नियति भोग्नुपर्ने हुन्छ । यसप्रति सरकार सावधान हुनुपर्छ । सम्हालिएर काम गर्न सक्यो भने मात्रै ७५ साल सफल हुन्छ ।

सरकारले धेरै महात्वाकांक्षा देखाएको छ । अब कुरा मात्रै होइन, काम पनि हुन्छ भन्ने विश्वासको वातावरण पनि बनाउन सक्नुपर्छ । किनकी कतिपय कुरा हावादारी भयो भन्ने टिप्पणी पनि भइरहेको छ । त्यसलाई चिर्नका लागि सरकार प्रतिवद्ध हुनुपर्छ ।

जलमार्ग, रेलमार्ग, सडक संजाल जस्ता विकासका योजनाहरु कुरामा मात्र नभै काममा पनि भयो भने प्रधानमन्त्री केपी ओलीको विश्वसनियता बढ्छ । अहिलेको सरकारको प्रमुख काम भनेको जनताप्रति विश्वसनियता बढाउनु हो । विगतमा गुमाएको विश्वसनियता फर्काउनका लागि अहिलेको सरकारले काम गर्नुपर्छ ।

अहिलेको सरकारलाई काम गर्ने अवसर छ । संघीय सरकारमा बहुमत छ । प्रदेश सरकारमा पनि ६ वटामा बहुमत छ । गाउँपालिका र नगरपालिकामा पनि केन्द्र सरकारमा रहेका दलहरुकै बाहुल्यता बढि छ । देशभरी नै प्रधानमन्त्रीको प्रतिवद्धता कार्यान्वयन गर्न सकिने वातावरण छ ।

प्रधानमन्त्री ओली शक्तिशाली बन्नुभएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा नै उहाँको शक्ति बलियो छ । त्यसैले यसलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्छ । अवसरको उपयोग गर्न सक्नुभयो भने देश र जनताका लागि राम्रो हुन्छ ।

प्रधानमन्त्रीले चाहनुभयो भने धेरै काम गर्न सक्ने अवस्था छ । बोल्ने मात्र होइन, काम पनि गर्छु भन्ने दृढ इच्छाशक्ति र संकल्प लिएजस्तो देखिएको छ । त्यसकारण पनि आशा गर्न सकिन्छ ।

विगतको जस्तो अभाव र संकटको अवस्था अब रहँदैन ।

वैशाख १, काठमाण्डौ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot