Logo

गगन थापाको अर्को अभियान सुरु, शताब्दी पुरुषद्धारा उद्घाटन



काठमाडौं, १ बैशाख । नयाँ बर्षको अवसर पारेर काँग्रेस नेता तथा काठमाडौ चारका सांसद गगनकुमार थापाले आज आफ्नो क्षेत्रमा सरसफाई अभियान सुरु गर्नु भएको छ ।

गत बर्ष २०७४ को पहिलो दिन स्वास्थ्य मन्त्री भएकाले मेरो स्वास्थ्य मेरो बर्ष अभियानको सुरुवात गर्नु भएका थापाले आज आफ्नो निर्वाचन क्षेत्रमा सरसफाई अभियान सुरु गर्नु भएको हो ।

सांसद थापाले स्थापना गरेको काठमाडौ चारको सांसदको कार्यालयद्धारा आयोजित “म बन्छु जिम्मेवार : कर्तव्यसंगै अधिकार” नामक अभियानको शताब्दी पुरुष सत्यमोहन जोशीले प्रारम्भ भएको घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा शताब्दीपुरुष जोशीले चार नं. क्षेत्रमा सुरु गरिएको यो अभियान मेची देखि महाकाली सम्मका गाँउपालिका देखि केन्द्रीय सरकारसम्मले अनुकरण गर्न अत्यावश्यक रहेको बताउनु भयो । कतव्र्यमा जोड दिने कतव्र्य सहितको अधिकार बोध गराउने अभियानलाई सवैले मनन गरियो भने देश बनी छाड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद थापाले नयाँ बर्षलाई कर्तव्यको बर्ष बनाउन आह्वान गर्दै बर्षभरी आफ्ना गतिविधिलाई अधिकार भन्दा कर्तव्यको दृष्टीकोणबाट हेर्न आग्रह गर्नुभयो । हाम्रा कुनै पनि धर्मले कर्तव्य विनाको अधिकारलाई नमान्ने चर्चा गर्दै उहाँले कर्तव्य पुरा गर्ने मात्रै अधिकारको भागीदार हुने तर्क गर्नुभयो । अधिकार प्रति म जति सचेत रहन्छु कर्तव्य प्रति पनि त्यती नै सचेत रहने छु भन्ने सोच र अठोट नयाँ बर्षका अवसरमा लिन उहाँले आग्रह गर्नुभयो ।

अभियानलाई कुनै राजनीतिक दल, संस्थाको मात्र नभई संपुर्ण जिम्मेबार नागरिकको अभियानका रुपमा लिन थापाले आह्वान गर्नुभयो ।
यो बर्षभरी ‘हरेक महिना एक विहान, समुदायको लागि श्रमदान” कार्यक्रम संचालन गरिने सांसद उहाँले जानकारी दिनुभयो । अभियान अन्तर्गत पहिलो कार्यक्रम आज ज्ञानेश्वर देखि चावहिल सम्म बृहत सरसफाई कार्यक्रम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्