Logo

आजदेखि आर्थिक गणना सुरु, सबै क्षेत्रको विवरण खोजिने



वैशाख १, काठमाण्डौ । सरकारले पहिलो राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ । केन्द्रीय तथ्यांक विभागले सबै उद्योग, व्यावसाय, विभिन्न सेवा प्रदायक संघसंस्था र प्रतिष्ठानको विवरण संकलन गरी आर्थिक तथ्यांक प्रणाली मजबुत पार्न भन्दै शनिबार आर्थिक गणना सुरु गरेको हो ।

केन्द्र, प्रदेश र स्थानीय तहका सरकारलाई योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउनु तथा मुलुकको लेखा प्रणालीको सुदृढीकरण गर्न सहयोग गर्नु आर्थिक गणनाको मुख्य उदेश्य भएको विभागले बताएको छ ।

विभागले आर्थिक गणनाका लागि ३ हजार ५ सय गणक तथा ५ सय सुपरीवेक्षक खटाएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक गणनाको शुभारम्भ गरे । अर्थमन्त्री डाक्टर खतिवडाले सही तथ्यांक संकलन गर्न गणकहरुलाई निर्देशन दिएका छन् ।

उनले विभागले उपलब्ध गराउने तथ्यांकले नीति निर्माणमा ठूलो प्रभाव पर्ने भएकाले गणकहरुले तथ्यांक संकलन गर्दा सजगता अपनाउनुपर्ने बताए ।

आर्थिक गणनाका क्रममा मुलुकमा क्रियाशिल सबै प्रतिष्ठान र व्यावसायको ठेगाना र व्यावसायको प्रकार, व्यावसायको शाखाको स्थिति, मुख्य आर्थिक क्रियाकलाप, रोजगारी स्थिति, पुँजी लगानी, ऋणमा पहुँचलगायत विवरण संकलन गरिने विभागले जनाएको छ ।

विवरण संकलन गर्न विभागले प्रश्नावली फाराम तयार गरेको छ । राष्ट्रिय आर्थिक गणना जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्