Logo

शेयरबजारमा ४ सय १९ अंकले घटेको वर्ष–२०७४ : समिक्षा



वैशाख १, काठमाण्डौ । सूचिकृत कारोबार हुने दोस्रो बजारका लागि वर्ष २०७४ निराशाजनक रुपमा बित्यो । २०७४ सालको पहिलो कारोबार बैशाख तीन गते नेप्से सूचक १ हजार ६ सय ६५ दशमलब शून्य सात अंकबाट सुरु भएको थियो भने बर्षको अन्तिम कारोबार भएको दिन १ हजार २ सय ७७ दशमलब पाँच पाँच अंकमा झरेको छ । यस वर्ष लगानीकर्ताले ४ सय १९ दशमलब पाँच आठ अंकले गुमाएका छन् ।

सूचिकृत कारोबार हुने दोस्रो बजारका लागि वर्ष २०७४ निराशाजनक रुपमा बित्यो । २०७४ सालको पहिलो कारोबार बैशाख तीन गते नेप्से सूचक १ हजार ६ सय ६५ दशमलब शून्य सात अंकबाट सुरु भएको थियो । बर्षको अन्तिम कारोबार भएको दिन १ हजार २ सय ७७ दशमलब पाँच पाँच अंकमा झरेको छ ।

कारोबार सुरु भएकै दिन शेयर बजार ४५ दशमलब पाँच दुई अंकले घटेको थियो भने वर्षको अन्तिम दिन भने ४ दशमलब दुई दुई अंकको सुधार देखियो । यस वर्ष लगानीकर्ताले ४ सय १९ दशमलब पाँच आठ अंकले गुमाएका छन् । वर्षको पहिलो कारोबार भएको दिनदेखि नै गिरावट देखिएको शेयर बजार एकोहोरो रुपमा घट्यो । वर्ष भरिमा नेप्से सूचक सबैभन्दा चैत्र १२ गते एक दिन ५१ दशमलब आठ नौ अंकको गिरावट सहित १ हजार १ सय ६८ पाँच पाँच विन्दु रहयो ।

कारोबार सुरु भएको दिनको सूचक सबैभन्दा माथिल्लो सूचक रह्यो भने १ हजार १ सय ६८.६३ विन्दु सबैभन्दा तलको रहयो । वर्ष भरीमा नेप्सेमा सूचिकृत २ सय ५९ वटा कम्पनीको एक खर्ब ३६ अर्ब रुपैयाँको कारोबार भयो ।

गत वर्ष २०७३ मा यस्तो कारोबार २ खर्ब ४० अर्ब रुपैयाँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ४३ दशमलब तीन तीन प्रतिशतले कारोबार रकम घटेको हो । यस वर्ष सबैभन्दा धेरै लगानीकर्ताको रोजाइमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भयो । नेपाल लाईफले यस वर्ष ७० प्रतिशत बोनस दिएको थियो ।

यसका साथै शेयर बजारमा बलियो स्थान बनाउँदै आएका स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक लिमिटेड, सानिमा बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु बैंक, नविल बैंक, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, नेपाल टेलिकम धेरैको रोजाइमा प¥यो । टप टेन कम्पनीले यस वर्ष जम्मा कारोबारको २५ दशमलब आठ दुई प्रतिशत ओगटेका छन् ।

एक वर्षमा ४ वटा कम्पनीले दुई अर्ब ८८ करोड रुपैयाँको एफपिओ निष्कासन गरेका थिए । त्यस्तै १२ वटा कम्पनीले चालु आर्थिक वर्षमा दुई अर्ब ९३ करोड रुपैयाँको आइपिओ निष्कासन गर्ने अनुमति पाएका छन् भने यस वर्षको बैशाख यता १७ वटा कम्पनीले ३ अर्व ९ करोड रुपैयाँको शेयर निष्कासन अनुमति पाएका थिए । यस वर्ष ६९ वटा कम्पनीले ३६ अर्ब ८१ करोड रुपैयाँको हकप्रद शेयर निष्कासन गरेका छन ।

पाँचवटा म्युचुअल फण्डले ६ अर्ब ५ करोड रुपैयाँको सार्वजनिक निष्कासन गरेका थिए । तर बैंकमा देखिएको तरलताको समस्याले गर्दा सिटिजन म्युचुअल फण्डले एक अर्ब रुपैयाँको निष्कासन गर्दा ८२ करोड रुपैयाँको मात्रै बिक्री भयो । एनआइसी एशिया ग्रोथ फण्ड पनि एक अर्ब रुपैयाँको निष्कासन गर्दा ८३ करोड ५२ लाख रुपैयाँको मात्रै बिक्री भएको थियो ।

सार्वजनिक शेयरमा आवेदन दिएपछि लामो समय होल्ड हुने प्रक्रियालाई छोट्याउन सिडिएससीले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । सिडिएससीको सहयोगमा गत फागुन ११ गतेदेखि पूर्ण रुपमा सि–आस्वा कार्यान्वयन भएसँगै प्राथमिक शेयर निष्कासन भएको ३७ घण्टामा बाँडफाँड गर्न सफल भएको थियो ।

यसले गर्दा बाँडफाँड तथा शेयर बजारमा लगानी गर्दा लामो समय पैसा होल्ड हुने मिति नै छोटिएको हो । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज र ब्रोकरको सक्रियतामा मार्जिन ट्रेडिङको कार्यविधि बनाउने काम यस वर्ष पूरा हुन सकेन । ब्रोकरले आफ्नो नेटवर्थको ५० प्रतिशत लोन दिने व्यवस्था गर्न लागेको हो । तर कार्यविधि तयार नहुँदा लगानीकर्ताले यस्तो सेवा लिन पाएका छैनन् ।

नेपाल स्टक एक्सचेन्जले समयमा अनलाईन प्रणाली विकास गर्न नसक्दा लगानीकर्ताले आफ्नो शेयर आफैँले किन्न पाउने व्यवस्थाबाट बञ्चित भए । स्टक आफैँले विभिन्न समयमा अनलाइन प्रणाली भित्र्याउने डेट लाइन तय गरेपनि यस वर्ष योजना अधुरै रह्यो । हाल स्टकले यस्तो डेटलाईन २०७५ जेठलाई बनाएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलताको समस्याले उच्च ब्याजदर झेलेका लगानीकर्ताको मनोबल वर्षभरी नै उकासिन सकेन । बैंकले दिनदिनै ब्याजदर बढाउन थालेपछि लगानीकर्ता बैंकको लोन तिर्न आफुसँग भएको शेयर बिक्री गरेर बाहिरिन बाध्य भए । बोनस तथा हकप्रद खाएर पनि आधाले पोर्टफोलियो घट्दा लगानीकर्तालाई बैंकले मार्जिन कलको एसएमएस पठाउन थालेपछि आत्तिएका थिए ।

यस वर्ष तीन वटै निकायको चुनाव सम्पन्न भयो । चुनावी नतिजा कम्युनिष्ट पार्टीको पोल्टामा जाँदा शेयर बजार थप तरंगित बन्यो। बजार बिस्तारै ओरालो झरेको बेलामा बाम गठबन्धन पछिका दिनमा २९० अंकको गिरावट देखियो । तर प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणसँगै देशमा बाम सरकार भएपनि यसले खुला अर्थतन्त्र अंगाल्ने भन्दै शेयर बजारमा थप केही उत्साह थपिएको थियो ।

नयाँ सरकार गठनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा परेका टेक्नोक्रयाट डा. युवराज खतिवडा अर्थमन्त्रीमा सपथ खाएको दिन देखिनै शेयर बजार घट्न थालेको थियो ।

एक संचारमाध्यममा अन्तर्वार्ताका क्रममा अहिले तरलताको समाधान गर्न अन्तराष्ट्रिय पूँजी भित्र्याउने तर त्यस्तो पैसा शेयर बजार तथा घरजग्गा जस्ता अनुत्पादनमुलक क्षेत्रमा लगानी गर्न नदिने भनेका थिए । अर्थमन्त्रीको अभिव्यक्तिले शेयर बजारमा अझ गिरावट आएको थियो ।

श्वेतपत्रमार्फत शेयर बजार सतही भएको हुँदा यसको विकास गर्नुपर्ने आवश्यकता भएको उल्लेख गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्