ललितपुर, १ वैशाख : गृहमन्त्री रामबहादुर थापाले नेपालमा रहेका शिख समुदायको अधिकारको रक्षा र सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
आज गुरुद्वारामा गुरु नानक सत्सङग व्यवस्थापन समितिले नयाँ वर्ष २०७५ तथा शिख गुरु खाल्साको जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले शिख समुदायलाई सुरक्षामा ढुक्क भएर आफ्ना गतिविधि गर्न आग्रह गर्नुभयो ।
उहाँले अंग्रेज विरुद्धको लडाईँमा भारतका रञ्जित सिंह र नेपालका तत्कालीन राजाबीच सहकार्य भएको इतिहास रहेको भन्दै नेपालको स्वाधिनताका लागि शिख समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले विगतमा नेपालमा ठूला सवारीसाधन भित्र्याउने तथा व्यापार व्यवसायमा शिख समुदायले अग्रणी भूमिका खेलेको समेत चर्चा गर्नुभयो । मन्त्री थापाले बालाजुमा शिख समुदायले पाउने भनिएका जग्गाको विषयमा आफूले पहल गर्नेसमेत स्पष्ट पार्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेपालको विकासमा शिख समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको सम्बन्धलाई थप मजबुत बनाउन शिख समुदायकोे पनि महत्वपूर्ण योगदान रहेको धारणा राख्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष प्रितम सिंहले बालाजुमा शिख समुदायले पाउने भनिएका जग्गा अहिलेसम्म नपाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे