Logo

आजदेखि नयाँ मतदाता नामावली दर्ता अभियान सुरु



काठमाडौं, २ बैशाख । निर्वाचन आयोगले आजदेखि मतदाता नामावलीमा नयाँ नाम दर्ता अभियान सुरु गर्न लागेको छ । आयोगले सबै क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गर्न दर्ता खुला गरेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले ७७ वटै जिल्ला तथा पाँच क्षेत्रीय कार्यालयबाट मतदाता नामावली संकलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गरिने जानकारी दिए ।

उहाँले नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन आवश्यक भएमा पनि गर्न सकिने बताए । यसअघि दर्ता नभएका र नागरिकता प्राप्त गरेका सबैले नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।

१६ वर्ष उमेर पुगेका व्यक्तिले पनि नाम दर्ता गराउन सक्ने तर परिचयपत्र भने १८ वर्ष उमेर पूरा भएपछि मात्रै दिइने प्रवक्ता ढकालको भनाइ छ । गत १० र २१ मंसिरमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता गराएका १ करोड ५४ लाख २७ हजार ९३५ मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्