Logo

५०/५० प्रतिशतको आधारमा पार्टी एकता गर्ने भन्ने कुरा हल्ला मात्रै : झलनाथ खनाल



वैशाख २, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वैशाख नौ गते पार्टी एकता गर्ने प्रयास भइरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका ऋषि धमलासँग कुरा गर्दै नेता खनालले वैशाख नौ गते तयारी पूरा नसके पनि अर्को मिति कुरेर एकता गरिने बताए ।

“भ्याइयो भने वैशाख नौ गते नै हुन्छ । भ्याइएन भने अर्को कुनै गते एकता हुन्छ ।” खनालले भने ।

नेताहरुको व्यस्तता सकिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने उनको दाबी छ । देशको विकास र पार्टीको एकताका लागि सबै नेताहरु प्रतिवद्ध रहेको भन्दै उनले जसरी पनि पार्टी एकता हुनुपर्ने बताए ।

“म त एकदम एकताको पक्षधर । एकता जसरी पनि हुनुपर्छ । सम्पूर्ण कार्यकर्ताहरुको इच्छाको कुरा हो । यसमा तलमाथि गर्ने कुरा छैन । कसैले तलमाथि गरेर पनि एकता रोकिदैन ।” खनालले भने ।

पचासपचास प्रतिशतको आधारमा पार्टी एकता गर्ने भन्ने कुरा हल्ला मात्रै भएको भन्दै उनले सौहार्दपूर्ण रुपमा एकता प्रक्रिया चलिरहेको दाबी गरे ।

“हामीबिचमा आत्मियता छ । छलफलका क्रममा त्यस्ता अनौठा अप्ठ्यारा कुरा कसैले गरेकै छैन । जस्तोसुकै समस्या देखा परे पनि समाधान हुन्छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्