लहान, ५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत आज सिरहाको कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली रुपाकुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका बालबालिका अझैसम्म विद्यालय बाहिर रहेकाले विद्यालयसम्म ल्याउन आफूले अभिभावकत्व ग्रहण गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउँदै भर्ना अभियानअन्तर्गत विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन सबैमा अपिल गर्दै उहाँले निरक्षरता उन्मूलन गरी नेपाललाई साक्षर मुलुक घोषणा गर्ने लक्ष्य सरकारले लिएको बताउनुभयो ।
तराईमा क्रियाशील समूहलाई राजनीतिक मूल प्रवाहमा आउन आग्रह गर्दै उहाँले भन्नुभयो – “अब आर्थिक क्रान्तिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको छ ।”
सडक पूर्वाधार, खानेपानी र स्वास्थ्यजस्ता अति महत्वपूर्ण योजना सञ्चालन भइसकेको र अब यस्ता कार्यमा ढिलासुस्ती गर्नेलाई सरकारले छुट नदिने पनि उहाँले बताउनुभयो ।
सो अवसरमा संघीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दलित छात्र सोनुकुमार खत्बेको अभिभावकत्व ग्रहण गर्दै अब विद्यालय भर्ना भएकै दिन विद्यार्थीले सहजरुपमा पाठ्यपुस्तक प्राप्त गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले पाठ्यपुस्तक वितरण भइरहेको कमिसनको खेल रोक्न सरकार लागिपरेको उल्लेख गर्दै विद्यालय भर्ना अभियानसँगै अब घरदैलो अभियानसमेत सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
प्रदेश नं २ प्रदेश करीव दुई लाख बालबालिका विद्यालय बाहिर रहेको सार्वजनिक भए पनि शिक्षा मन्त्रालयको तथ्याँकअनुसार एक लाख ५३ हजार बालबालिका मात्र विद्यालय बाहिर रहेको दाबी गर्दै उहाँले भन्नुभयो – “बालबालिकालाई विद्यालयसम्म ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो ।”
सोहीअवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अर्का दलित छात्र राहुलकुमार खत्बेलाई विद्यालय भर्ना गराउँदै शिक्षाको पहुँचबाट कोही बञ्चित नहोस् भनेर सरकारले शुरु गरेको भर्ना अभियान सहभागी हुन सबैसँग आग्रह गर्नुभयो ।
अन्य प्रदेशभन्दा प्रदेश नं २ हरेक दृष्टिकोणबाट पछाडि रहेकाले यो प्रदेशलाई विशेष प्राथमिकता दिएर बजेट उपलब्ध गराउन उहाँले मागसमेत गर्नुभयो । कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दलित छात्रा मनिषाकुमारी डुमको अभिभावकत्व ग्रहण गर्नुभयो ।
यसैगरी, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले पाँच जना र शिक्षा विभागका तारक धितालले १० जना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । (रासस)