Logo

ईक्यानको चुनाव : सामाजिक संजाल फेसबुकमा यस्तो देखियो



वैशाख ६, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानको चुनावका लागि प्रचारप्रसार तिब्र पारिएको छ । यही ८ गते हुने निर्वाचनले ईक्यानको नयाँ कार्यसमिति चयन गर्दैछ ।

अध्यक्षका लागि पूर्व उपाध्यक्ष सरोजकुमार बस्नेत र हालका उपाध्यक्ष विष्णुहरी पाण्डेबिच प्रतिस्पर्धा हुँदैछ ।

बस्नेत र पाण्डेले बुधबार प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

चुनावको मिति नजिकिदै गर्दा दुवै समुहले समाजिक संजाल फेसबुक र युटुबमार्फत प्रचारलाई तिब्र बनाएका छन् ।

दुवै समुहको प्रचारलाई केही अनलाईन संचालमाध्यमले पनि खुलेरै साथ दिएका छन् ।

दुवै समुहका उम्मेदवारदेखि मतदातासम्मले आ–आफ्नो पक्षमा प्रचारका लागि समाजिक संजाल फेसबुकको प्रयोगलाई प्राथमिकता दिएका छन् । उम्मेदवारहरु आफ्नो मात्र नभै एकले अर्काको प्रचारलाई पनि महत्व दिएका छन् ।

इक्यानका एक सदस्य विमलमान राजभण्डारीले बस्नेत समुहको समर्थन गर्दै लेखेका छन्, सच्चा सदस्य सही ब्यक्तित्व । सरोज कुमार बस्नेत को हातमा ईक्यानको नेतृत्व ।

राजभण्डारीको धारणाप्रति सहमति जनाउँदै ईक्यानकै अर्का सदस्य पदम भट्टराईले कमेन्टमा लेखेका छन्, सरोज बस्नेत सहित उनको टीमका सबै उमेदवारहरु पुर्ण व्यवहारिक, व्यवसायिक र ईक्यानका सबै साधारण सदस्य र सदस्य संस्था प्रति समान जिम्मेवार र हैसियत राख्नेहरु छन !! शुभकामना !!

पाण्डे समुहका समर्थक डिराज धितालले उक्त समुहबाट उम्मेदवार बनेका सबैजसो उम्मेदवारको पक्षमा सामाजिक संजालमा भोट मागेका छन् ।

इक्यानकै सदस्य प्रकाश क्षेत्रीले पनि पाण्डे समुहको पक्षमा भोट माग्दै लेखेका छन्, आफ्नो अधिकार सुर्क्िषत गर्न बिस्नुहरी पाण्डे समुह लाई भोट । शिक्षा मन्त्रालयसँग सम्बन्धित रहेका समस्यामा छलफल र निकास दिनसक्ने टिम र नेतृत्व मेरो हो र हुन्छ ।
क्षेत्रीले पाण्डे समुह क्षमता र योग्यता भएको समुह भएको दाबी गरेका छन् ।

अर्की सदस्य लक्ष्मी पाण्डेले बस्नेत समुहको समर्थन गर्दै भोट मागेकी छिन्, उनले फेसबुकमा लेखेकी छिन्, यहि मिती २०७५–०१–८ गते काठमाडौंमा हुन लागेको ईक्यानको केन्दिय महाधिवेशनमा सरोज कुमार वस्नेतको टिमलाई आफ्नो अमुल्य मत प्रदान गरी विजयी गराउनु हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछु ।

दुवै समुहले फेसबुक पेज नै बनाएर प्रचार अभियानलाई तिब्रता दिएका छन् ।

उम्मेदवारहरुले विभिन्न संचारमाध्यममा आफ्ना पक्षमा लेखिएका समाचार र अन्तरवार्ता फेसबुकमा शेयर गरेका छन् ।

३ सय ८१ जना मतदाता रहेको ईक्यानको यसपटकको चुनाव रोचक हुने देखिएको छ । बस्नेत समुहका मतदाताले पाण्डे समुहलाई राजनीतिक समुहको संज्ञा दिएको छ भने पाण्डे समुहका मतदाताले पनि बस्नेत समुह राजनीतिबाट अछुतो नरहेको भन्दै कटाक्ष गर्ने गरेको छ ।

अध्यक्षका प्रत्यासी विष्णुहरी पाण्डे नेकपा एमालेको विदेश विभाग सदस्यसमेत रहेकाले पनि उनलाई राजनीति गर्नका लागि ईक्यानको नेतृत्वमा पुग्न लागेको आरोप लगाइएको छ । अध्यक्षका अर्का उम्मेदवार सरोजकुमार बस्नेत पनि नेपाली कांग्रेस समर्थक भएकाले आरोप खेप्नुपरेको छ ।

यद्यपी तुलनात्मक रुपमा बस्नेत समुह राजनीतिबाट टाढा रहेको कतिपयको विश्लेषण छ ।



प्रतिक्रिया दिनुहोस्