काठमाडौं, ६ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गर्ने चर्चा चलिरहेको बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच आगामी महाधिवेशनसम्म मिलेर जाने भद्र सहमति बनेको छ ।
एमाले निकट उच्च स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष ओलीले एकता महाधिवेशनसम्म आफूलाई साथ दिनको लागि नेता नेपालसँग आग्रह गरेका छन् । नेता नेपालले पनि ओलीको आग्रहलाई सकारात्मक रुपमा लिएका छन् ।
ओलीले आफू नेतृत्वको सरकारका हरेक कदममा माधव नेपालको साथ खोजेका छन् । स्रोतले भन्यो,‘उहाँहरुबीच भद्र सहमति भैसकेको छ। दुई वर्षभित्र वा तीन वर्षभित्र हुने एकीकृत महाधिवेशनमा अध्यक्षमा ओली उठ्नुहुन्न, उहाँ ब्याक हुने माधव नेपाललाई अध्यक्षमा उठाउने सम्भावना छ ।’
अध्यक्ष ओली र नेता नेपालबीच यस्तो भद्र सहमति भएपछि उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने सशंकित बनेका छन् । ओली–नेपालबीच बनेको नयाँ भद्र सहमतिसँगै एकीकृत पार्टीको महाधिवेशनपछि नेतृत्व सम्हाल्ने प्रचण्डको चाहनामा ठेस लाग्ने स्रोतको दाबी छ ।