Logo

मन्त्री थापाद्वारा चोचाङ्गीलाई विद्यालय भर्ना



बाबियाचौर, म्याग्दी, ७ वैशाख  : महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका–१ बेगकी चार वर्षीया बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको छ ।

बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीकी चार वर्षीया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराउनुभएको मन्त्री थापाका स्वकीय सचिव गमबहादुर पुनले जानकारी दिनुभयो । मन्त्री थापाले बालिकाको अभिभावकत्व ग्रहण गर्दै एक वर्षका लागि उनको पोशाक, शैक्षिक सामग्रीको व्यवस्था मिलाउनुभएको छ ।

सरकारले संघीय, प्रदेश, स्थानीय तहका सबै जनप्रतिनिधिलाई भर्ना अभियानमा परिचालन भएर विद्यालय उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आह्वान गरेको छ । महादेव माविको स्वर्ण जयन्ती समारोहमा सहभागी हुने क्रममा मन्त्री थापाले चोचाङ्गीलाई भर्ना गराउनुभएको हो ।  (रासस)



प्रतिक्रिया दिनुहोस्