Logo

अहिले सरकारमा सहभागी हुनुको कुनै औचित्य छैन् : महतो



काठमाडौं, ७ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा राजपा अध्यक्षमन्डलका नेतासहित कार्यकर्ताहरुको उपस्थिति थियो । त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीलगायत विभिन्न दलका नेताहरु चियापान कार्यक्रममा पुगेका थिए ।

कार्यक्रममा सन्चारकर्मीहरुसँग कुरा गर्दै राजपा अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताए ।

अहिलेकै अवस्थामा सरकारमा सहभागी हुनुको कुनै औचित्य नभएको भन्दै नेता महतोले आफूहरु मधेसी जनताकैबीचमा रहेर काम गर्ने बताए ।

सोही कार्यक्रममा राजपाका नेता एवं प्रदेश नम्बर–२ का मन्त्री जितेन्द्र सोनलले केन्द्र सरकारले मधेसको हित चाहने भए संविधान संशोधनको विकल्प नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्