Logo

राति ११ बजेसम्म पर्यटक हिँड्न सक्ने वातावरण बनाउनुपर्ने : मन्त्री अधिकारी



काठमाडौँ, ८ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले राजधानीमा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

विश्व सम्पदा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भूसम्मको पदयात्रा कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दैै उहाँले राजधानीको आवश्यकता धान्नलाई पनि रातिसम्म घुमफिर गर्न सक्ने गरी व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।

“राति ११ बजेसम्म पर्यटक घुम्न सक्ने वातावरण बनाए अझ बढी पर्यटक आकर्षित गर्न सकिन्छ, यस्तो वातावरण बने उपत्यकाका १५ देखि २० स्थानमा राति पर्यटक भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले १५ लाख बाह्य पर्यटक भित्र्याइने बताउनुभयो । प्रतिपक्षलाई समेत साथमा लिएर विकास र समृद्धिको सपना पूरा गर्ने उहाँको प्रतिबद्धता थियो ।

सांसदद्वय जीवनराम श्रेष्ठ र रामवीर मानन्धर, महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले उपत्यकाका सम्पदालाई पदमार्गका माध्यमबाट जोडिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमअघि स्थानीयवासी र विभिन्न विद्यालयका विद्यार्थीले हनुमानढोकाबाट स्वयम्भूसम्म पदयात्रा गरेका थिए । महानगरपालिकाले वैशाख २ गतेदेखि आजसम्म सम्पदा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनायो । प्रत्येक वर्ष अप्रिल १८ का दिन यो दिवस मनाइन्छ । (रासस)



प्रतिक्रिया दिनुहोस्