Logo

एकता गर्न प्रचण्डलाई दबाब : नारायणकाजी एमालेमा प्रवेश गर्ने !



काठमाडौं, १० बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियामा बिलम्ब भैरहेको बेला माओवादी केन्द्रका शीर्ष नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता तत्काल गर्न दबाब दिएको खुलासा भएको छ।

एमालेभन्दापनि माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकतामा अब ढिलाई गर्न नहुने पक्षमा उभिएका छन् । उनीहरुको अभिव्यक्तिपनि त्यस्तै खालको छ । हुनपनि हो एकता गर्ने भनेर जनताले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनलाई भोट दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका नेताहरुको हिमचिम अहिले बाक्लिएको छ । माओवादी केन्द्रका प्रभावशाली नेताहरुको यतिवेला आफ्नो पार्टीका अध्यक्ष प्रचण्डभन्दापनि एमाले अध्यक्ष ओलीसँगको सामिप्यता र घनिष्ठता देखिएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ त यतिसम्म की एकता नभए आफू एमालेमा प्रवेश गर्नेसम्मको तयारीमा पुगेका स्रोतको दाबी छ । त्यस्तै यतिवेला प्रचण्डसँग भन्दा ओलीसँग बढि नजिकिने माओवादी केन्द्रका नेताहरुमा श्रेष्ठसँगै टोपबादुर रायमाझी, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बहादुर बस्नेत छन् ।

प्रचण्डको पक्षमा यतिवेला वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षमान पुन र हरिबोल गजुरेल रहेका छन् । प्रचण्डले एमालेसँगको एकताको लागि ५०/५० को बटमलाई अघि सारेका छन् । तर उनकै पार्टीका बरिष्ठ नेता श्रेष्ठ लगायत अन्य नेताहरु भने त्यस्तो कुरा गर्न नहुने पक्षमा उभिएका छन् ।

श्रेष्ठले आफू निकटसँग भन्ने गरेका छन्,‘त्यस्तो कुरा नगरौं, बरु समानताको आधारमात्रै कुरा गरौं, ५०/५० को कुराले एकतामा अप्ठ्यारोमा पर्छ।’



प्रतिक्रिया दिनुहोस्