Logo

नेतृत्वलाई असफल भएको आरोप लगाउँदै गगन थापाले गरे अर्ली अधिवेशनको माग



वैशाख ११, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अर्ली अधिवेशनको माग गरेका छन् । थापाले आजको केन्द्रीय समितिमा आफ्नो धारणा पेश गर्दै अधिवेशनको माग गरेका हुन् ।

५१ पन्ने लिखित सुझावको ४९ औं पन्नमा थापाले विधानअनुसार महाधिवेशनमा जाँदा थप दुई वर्ष लाग्ने भएकोले पार्टीलाई नवजीवन दिन शीघ्र महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीकै कारण कांग्रेसको हालत खराब भएको उल्लेख गर्दै थापाले तत्काल महासमिति बैठक राखी त्यहीबाट विधान संशोधन गरी शीघ्र महाधिवेशनमा जानुपर्ने तर्क पेश गरे ।

थापाले पेश गरेको दस्ताबेज युवा नेताहरु थापासहित प्रदिप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे लगायतको संयुक्त हो ।

पार्टीको नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि उमेर केही होइन भन्न नसकिने भन्दै ‘छ भाइ’ले सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको बताएका छन् ।

पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँको आगमन नहुँदा एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको भन्दै दस्तावेजमा भनिएको छ, ‘पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका त र्कोयौं तर, त्यसलाई चलाउने नेतृत्व सिथिल र यथास्थितिवादी छ भने संगठनमा गतिशिलता कसरी आउँछ ?

अहिलेकै नेतृत्वलाई निरन्तरता दिन खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु नै हो,’ ‘छ भाइ’ को निष्कर्ष छ ।

उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतिर लाग्न पनि आग्रह गरेका छन् । दस्तावेजमा भनिएको छ, अब कम्युनिष्ट गठनबन्धन के होला भनेर नकुरौं, ५ वर्षपछिको चुनावमा यस्तो अवस्था बनाऔं कि सबै पार्टी एक ठाउँमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमतसहितको पहिलो पार्टी बनाउने छौं ।’

’त्यसैले अहिलेको लागि उपयुक्त बाटो भनेको महासमिति सके लगत्तै शीघ्र १४ औं महाधिवेशनको तालिका बनाएर काम शुरु गर्नुपर्छ,’ शीघ्र महाधिवशेन शीर्षकको अन्त्यमा लेखिएको छ ।

संघीयताअनुसार देशमा ७५३ स्थानीय सरकार, ७ प्रदेश सरकार बनिसक्दा पनि कांग्रेसले पुनर्संरचना नगरेकोले यसका लागि पनि महासमिति बैठकबाट विधान संशोधन गर्नुपर्ने थापाको सुझाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस्