काठमाडौं, ११ बैशाख । प्रधानमन्त्रीमा निर्वाचित भएपछि नै केपी शर्मा ओली चीन भ्रमणमा जान चाहेका थिए । तर, ओलीको चीन भ्रमण अहिलेलाई रोकिएको छ । हालै भारत भ्रमण गरेका ओली लगत्तै चीन जान चाहन्थे । तर, उनको चाहना केही समयलाई अधुरो रहने निश्चित भएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएसँगै ओलीले भारतसँगको सम्बन्धलाई सुमधुर बनाउनको लागि कसरत गरे । प्रधानमन्त्रीमा दोस्रो कार्यकालको लागि सत्तारोहण गरेसँगै ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई सुमधुर बनाउन समय खर्चिएका थिए । र उनी यो प्रयासमा सफल समेत भए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनका समकक्षी ओलीसँगको निकटता बढाए । मोदीपनि बदलिँदो परिवेशमा ओलीलाई विश्वासमा लिएर अघि बढ्न चाहेका थिए, र उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौं पठाए । त्यसलगत्तै ओलीले तीन दिने भारत भ्रमण गरे । भ्रमणमा ओलीलाई भारतले न्यानो आतिथ्यता प्रदान गरे । भारतको स्वागत तथा सम्मानबाट ओली निकै उत्साहित बनेका छन् ।
ओलीले आफ्नो भारत भ्रमण सफल र फलदायी भएको दाबी मात्रै गरेनन् । स्वदेश ओर्लिएसँगै उनले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो भ्रमण कस्तो भन्ने कुरा ‘तस्विर आँफै बोल्छ’ भन्दै प्रतिक्रिया दिएका थिए ।
भारतबाट फर्किएका ओली लगत्तै चीन जाने चाहना बमोजिम आन्तरिक गृहकार्यमा जुटेका थिए । सोही बमोजिम ओलीले आफ्नो दुतको रुपमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई चीन पठाए । भ्रमणको तयारी समेत जुटिरहेको बेला भारतीय पक्षले एक्कासी प्रधानमन्त्री मोदीको नेपाल भ्रमण बैशाख २८ गतेलाई प्रस्ताव गर्यो । भारतको उक्त प्रस्ताव बमोजिम नै मोदी बैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
हुन त ओली मोदी नेपाल आउनुपुर्व नै चीन जान चाहन्थे तर मोदी आँफै यो बीचमा नेपाल आउने भएपछि उनको चाहनामा केही समयको लागि ब्रेक लागेको छ । मोदीको नेपाल भ्रमण सम्पन्न भएसँगै नेपालमा बजेट अधिवेशन सुरु हुन्छ । ओली त्यसमा व्यस्त रहन्छन् । त्यसपछि नीति तथा कार्यक्रम सुरु हुन्छ । जेठ १५ गते बजेट आउने भएकोले अब असार यता ओली चीन जाने सम्भावना टरेको छ ।
कुटनीतिज्ञरुले जनाए अनुसार मोदीसँगै मिलेर जाने ओलीको चाहना छ । मोदीलाई ओलीले भव्य स्वागत गर्ने तयारी थालेका छन् । मोदीको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने दुवै पक्षको विश्वास छ ।
मोदी यही बैशाख २८ गते नेपाल भ्रमणमा आउने छन् । उनी काठमाडौंसँगै जनकपुरको समेत भ्रमण गर्नेगरी आउन लागेका हुन् । मोदीले काठमाडौं र जनकपुरको भ्रमण गर्ने भनिए पनि भ्रमणको विस्तृत तालिका भने सार्वजनिक गरिएको छैन । मोदी यसअघि सार्क शिखर सम्मेलनका बेला २०१४ म नेपाल आउँदा जनकपुर जान चाहेका थिए । तर त्यतिबेला यो सम्भव भएको थिएन ।
मोदीको यो तेस्रो नेपाल भ्रमण हो । पछिल्लो समय भने प्रधानमन्त्री ओलीले भारतको भ्रमण गरिसकेका छन् र भारतसँगको सम्बन्ध सुधार भएको बताएका छन् ।