वैशाख १२, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा अभिनन्दन गर्न प्रदेश सरकारले तयारी थालेको छ । प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको तयारीका लागि प्रदेश सरकार विभिन्न समिति बनाएर तयारी थालेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले वैशाख २८ गते मोदी नेपाल आउने सुचना पाएको र सोही अनुसार जनकपुर भ्रमणको तयारी सुरु गरेको बताए ।
“मोदीको भव्य अभिनन्दनका लागि हामी तयारीमा जुटेका छौँ । प्रदेश दुईको सरकार र नागरिक मिलेर अभिनन्दनलाई सफल बनाउँछौँ ।” राउतले भने ।
मोदीको भ्रमण भव्यताका साथ सफल बनाउन जनकपुरको सरसफाइ, सुरक्षा, मञ्च व्यवस्थापनका लागि बैठक बसेको राउतले बताए । मुख्यमन्त्री राउतले मोदीको भ्रमणका लागि जनकपुरमा गरिने तयारी बारे प्रदेशका मन्त्री, सुरक्षा निकाय, जनकपुर उप–महानगरपालिका मेयर लगायतका सरोकारवालाहरुसँग छलफल गरेका छन् ।
प्रदेश नम्बर दुईका आज जिल्लाबाट बढिभन्दा बढि जनता उपस्थित गराएर मोदीको अभिनन्दन सफल बनाउने राउतको जिकिर छ ।
“जनकपुरको बाह्र बिग्हामा भारतीय प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।” मुख्यमन्त्री राउतले भने, “मोदीको जनकपुर भ्रमणमा प्रदेश २ का नागरिकलाई सहभागि गराएर सम्मान गर्न हामी विभिन्न समिति र उप समिति बनाएर अगाडि बढने निर्णय गरेका छौ । सबै संघ संगठन, नागरिक र स्थानीय निकाय पनि उत्साहित छ ।”
केही दिन अघि नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरीसँगको भेटमा पनि मोदीको अभिनन्दनबारे छलफल भएको राउतले बताए ।
जनकपुर भ्रमणको क्रममा मोदीले जानकी मन्दिरमा पद दर्शन तथा पुजापाठ र नागरिक अभिनन्दनका लागि प्रदेश सरकारले तयारी थालेको हो । जनकपुरको आकर्षण बढाउन बैठकबाट सबै पक्षले आ–आफनो पक्षबाट भुमिका निर्वाह गरी मोदीको भ्रमण सफल बनाउने निर्णय भएको राउतले जानकारी गराए ।