वैशाख १२, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भत्केका संरचनाहरुको पुनर्निर्माणको गीत मात्रै गाएर नुहने बताएका छन् । विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको अवसरमा धरहराको छेउमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले गित मात्र गाएर बस्ने हो भने बाँकी पुनर्निर्माणको काम अलमलमा पर्ने बताए ।
पहिलो पटक प्रधानमन्त्री हुँदा मेरो धरहरा म बनाउँछु अभियान सुरु गरेका ओलीले अहिलेसम्म त्यसको प्रगति नभएको भन्दै अब धरहरा बनाएरै छाड्ने दाबी गरे ।०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै ओलीले भने “मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु ।”
प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने “मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।”
धरहरालाई अव्यवस्थित तरिकाले नभएर व्यवस्थित तरिकाले बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । २०७२ सालमा गएको महाभूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा धरहरा, रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण चाँडो हुनुपर्ने बताए । ओलीले भने“धरहरा सकेसम्म छिटो निर्माण गरौं । रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । बसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं ।”
तस्बिर-मुकुन्द कालिकोट