Logo

ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्छ : अध्यक्ष दाहाल



रत्ननगर, चितवन, १२ वैशाख (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताउनुभएको छ ।

पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २१ पर्वतीपुरमा आज आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको सरकारले ज्येष्ठ नागरिकको समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो । “घोषणापत्रमा भत्ता रु पाँच हजार पु¥याउने भनिएको छ, योसँगै ज्येष्ठ नागरिकको राज्यले उचित संरक्षण गर्छ”, दाहालले भन्नुभयो ।

चितवनबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्वप्रधानमन्त्री दाहालले चितवनको विकासका सन्दर्भमा अन्य जिल्लाका लागिसमेत नमूना हुने गरी जिल्लाको विकास गर्ने योजना रहेको बताउनुभयो ।

अहिले नै विभिन्न १५ वटा भित्री सडकमा कालोपत्रका लागि बजेट आइसकेको भन्दै अध्यक्ष दाहालले अब विकासले गति लिने उल्लेख गर्नुभयो । स्थानीय कृष्ण चोकमा प्रहरी चौकी स्थापनाका लागिसमेत पहल शुरु भएको उहाँको भनाइ थियो ।

सो क्रममा वृद्धवृद्धाले वृद्धाश्रम निर्माण गर्न अध्यक्ष दाहालसँग माग गरेका थिए । दाहालले आश्रम बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा यहाँका विभिन्न क्षेत्रका वृद्धवृद्धालाई सम्मान गरिएको थियो । स्वास्थ्य शिविर भने आगामी १५ गतेसम्म सञ्चालन हुने स्थानीय नारायण आचार्यले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्