काठमाडौं, १३ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफूले कार्यभार सम्हालेपछि गरेका कार्यहरु आज सार्वजनिक गरेका छन् ।
बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै मन्त्री महासेठले महत्वपूर्ण दश कार्य सम्पन्न गरेको जनाएका छन् । उनले जारी गरेको वक्तव्यमा भनिएको छ,“यातायात व्यवसायीहरुको मिलेमतो (सिण्डिकेट) तोडिएको छ।”
त्यस्तै काठमाडौंका विभिन्न चार वटा चोकमा ट्राफिक वक्तीहरु मर्मत गरी संचालनमा ल्याई यातायात व्यवस्थापनमा सहजिकरण गरिएकोपनि जनाईएको छ । मन्त्रीकै ठाडो निर्देशन तथा प्रत्यक्ष अनुगमनमा ०७५ बैशाख १५ गतेभित्रै सडक विभाग अन्तगर्त पर्ने सडकहरु खाल्टाखुल्टीरहित (पोट होल फ्रि) हुनेगरि मर्मत सम्भार भैरहेको विज्ञप्तीमा भनिएको छ ।
नारायणघाट मुग्लिन सडक ०७५ जेठ १६ गतेभित्रै सम्पन्न हुनेगरि द्रुततर गतिमा कार्य भैरहेको छ । नागढुँगा–कलंकी–त्रिपुरेश्वर र चावहिल–जोरपाटी–साँखु सडक सुधारको कार्यले गति लिएको पनि छ ।
सार्वजनिक खरिदलाई अझै प्रतिष्पर्धात्मक र पारदर्शी बनाउन सार्वजनिक खरिद ऐन नियामावली र वोलपत्र पुस्तिकाका प्रावधान संशोधन परिमार्जन गर्न अध्ययन सुरु गरिएको छ ।
देशभर चालु रहेका ठेक्काहरु निर्धारित समय र गुणस्तरमा सम्पन्न गर्न उच्चस्तरीय स्थगलत् अनुगमन सुरु गरिएको छ ।
जल यातायात विकासका लागि मन्त्रालयमा जय यातायात समेत हेर्ने शाखाको व्यवस्था गरिएको छ ।
रेल यातायत विकासका लागि दुई पक्षीय छलफल तिब्र बनाईएको छ।
अमेरिका, भारत, चीन, फ्रान्स, जापान र श्रीलंका लगायत विभिन्न मुलुकका राजदुतहरुसँग भेटघाट गरी द्धिपक्षीय हित र यातायात पूर्वाधार विकासका विषयमा छलफल गरिएको छ ।