ललितपुर, १५ वैशाख : एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको विद्यालयले जनाएको छ ।
अभिभावकलाई मेरो विद्यालयमा नै सन्तान पढाउनु भनेर अनिवार्य गर्न नमिल्ने सहप्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “तर हामीले उहाँहरुलाई अनुरोध गरिरहेका छौँ ।” भर्ना अभियान चलिरहँदा विद्यालय भने शिक्षित अभिभावकलाई लक्षित गर्न लागेको छ ।
आफूहरुले सन्तान पढाएपछि विद्यालयमा शिक्षित अभिभावकका सन्तान बढिरहेको विद्यालयले जनाएको छ । शिक्षित अभिभावकले सन्तान सामुदायिक विद्यालयमा पढाउँदा समुदायमा सकारात्मक सन्देश जाने थापा बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “पढेलेखेका मान्छेले त सामुदायिकमा पढाए भने सामुदायिक विद्यालय नराम्रो होइनरहेछ भन्ने सन्देश फैलिन्छ ।” विद्यालयले स्थानीय निकायसँगको सहकार्यमा शिक्षित अभिभावकका सन्तान विद्यालय ल्याउन लागेको छ ।
विद्यालयले अभिभावकको चाहना बुझेर केही वर्षदेखि अंग्रेजी माध्यममा पढाउन थालेको छ । रासस