बेइजिङ, चीन, १५ वैशाख : चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहनुभएको भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गर्नुभएको छ ।
उक्त अवसरमा दुवै देशका नेताले भारत र चीनबीचको सीमा विवादले निम्त्याएको समस्या समाधानका लागि आयोजित शिखर सम्मेलनमा दुई देशका हिमाली क्षेत्रमा लामो समयदेखि देखिँदै आएको अविश्वासको अवस्थालाई निवारण गर्न नयाँ अध्याय शुरू गर्ने बिषयमा केन्द्रित भएको बताइएको छ ।
उक्त अवसरमा नयाँ दिल्लीबाट चीन पुगेको प्रतिनिधिमण्डलले बेइजिङले अघि सारेको ‘बेल्ट एन्ड रोड’, विश्व व्यापारका लागि आधारभूत संरचना, पाकिस्तान प्रशासित काश्मिरका प्रमुख कार्यक्रम लगायतका बिषयमा चासो उठाएको बताइएको छ । नयाँ दिल्लीले पाकिस्तानी काश्मिरी इलाकालाई गैरकानूनी रूपमा ओगटेको विवादित भूमिका रूपमा लिने गरेको छ ।
शनिवार सङ्ग्रहालयको अवलोकनपछि केही समय बैठक भएको थियो । शनिवार प्रधानमन्त्री मोदी इस्ट लेकमा डुङ्गा भ्रमण गरी पुनः बैठकमा सहभागी हुने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै राज्य सञ्चालित सिसीटीभीले भनेको छ, “मलाई विश्वास छ कि भारतीय प्रधानमन्त्री र म यस बैठकबाटै चीन–भारतबीचको सम्बन्धमा नयाँ अध्याय बनाउनका लागि मार्ग प्रशस्त गर्न सफल हुनेछौँ,” चिनियाँ राष्ट्रपति सीले भन्नुभयो ।
दुईदेशले पछिल्लो समयमा असल सम्बन्ध कायम राख्न सफल भएका छन् र आगामी दिनमा सवै क्षेत्रमा निकट साझेदार र सहकार्यका साथ अघि बढ्न आफूले चाहेको नेता सीले बताउनुभयो ।
हाम्रा देशहरूबीच रहेको मित्रवत सम्बन्धलाई निरन्तर मजबुत पार्दै ‘याङ्से तथा एलो रिभर’ जस्तै नरोकिने गरी अघि बढ्नेछन् ।
उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफूलाई दुई पटकसम्म बोलायर भेट गरेको भन्दै चिनियाँ प्रधानमन्त्री सीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसले उहाँको भारतप्रतिको माया र मित्रतालाई देखाएको छ ।
विश्वको करिब ४० प्रतिशत जनसङ्ख्या रहेको चीन र भारतलाई विश्वका धेरै समस्या हलगर्ने जिम्मेवारी रहेको र राष्ट्रपति सीसँगको भेट यसका लागि ‘बृहत अवसर’ भएको बताउनुभयो ।
राष्ट्रपति सी र मोदी आफ्नै नारालाई स्मरण गर्दै भन्नुभयो, “तपाईको ‘नयाँ युग’ को सपना र हाम्रो ‘नयाँ भारत’ भन्ने धारणा विश्वको उपलब्धिका लागि सही कदम हुनेछ ।”
दुवै देशका नेताले सीमा तथा अन्य विवादलाई प्रत्यक्ष उल्लेख गरेका थिएनन्् । दुई देशका नेताबीचको ‘अनौपचारिक’ भनिएको भेटवार्ता शनिवार पनि हुने अधिकारीहरूले जनाएका छन् । (रासस/एएफपी)