वैशाख १६, काठमाण्डौ । समुन्द्र सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले आन्तरिक एवम् बाह्य पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास भएको हो ।
नेपालीको मनमा लोकप्रिय गन्तव्यका रूपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीको बढी भीड लाग्छ । त्यहाँ बजारमा नेवार शैलीका घर छन् ।
कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई अहिले बन्दीपुर उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।
बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । दुई÷तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक यहाँ आइसकेपछि थप केही दिन नबसी नफर्कने होटल व्यवसायीको भनाइ छ । जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने गरेको छ ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटरको दरीमा रहेको डुम्रे हुँदै त्यहाँदेखि आठ किलोमिटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरसम्मै पक्की सडक छ, तर काठमाडौँबाट बन्दीपुरसम्म सोझै सार्वजनिक बस चल्दैनन् । त्यसैले काठमाडौँबाट मुग्लिन हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसम्म बसमा जानुपर्छ । डुम्रेबाट आठ किमी टाढा छ बन्दीपुर । डुम्रे बजारमा बन्दीपुर जाने बस र जिप पाइन्छन् ।
बन्दीपुरमा पाँच सयदेखि चार हजार रुपैयाँसम्मका कोठा पाइन्छ । बन्दीपुर माउन्टेन रिसोर्ट, गाउँघर, वल्ड इन, बन्दीपुर भिलेज रिसोर्ट, श्रेष्ठ होटल, होटल बन्दीपुर अग्र्यानिक होमलगायत तीन दर्जन होटल तथा रिसोर्ट छन् ।
मुख्य बन्दीपुर बजार छ सय मिटर लम्बाइमा फैलिएको छ । त्यो भागमा सवारी साधन निषेध छ । बीचमा ढुँगा छापिएको छ । दायाँ–बायाँ इँटा, माटो, काठ र टायलले बनेका दोहोरीलता घरहरू छन् । घरहरू कलात्मक झ्याल–ढोकायुक्त छन् । प्रायः घरमा होटल÷रेस्टुरेन्ट छन् । तिनका आँगनमा बसेर खानपिन गर्न पाइन्छ ।
बजार छेवैको टुँडिखेल हिमाल हेर्ने राम्रो ‘भ्यू प्वाइन्ट’ हो । त्यहाँबाट हिमालको लामो लर्कन देखिन्छ, धौलागिरी, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृंखलासम्म । विशेषतः असोजदेखि माघसम्म मोतीझैँ टल्किन्छन् ।
बन्दीपुरबाट तल मस्र्याङ्दी भ्याली चित्ताकर्षक देखिन्छ । बिहान सेतो कुहिरोले ढपक्कै ढाक्दा सेतो तलाउझैँ लाग्छ । दिउँसो खुलेपछि तल–तलका बस्ती, खेतबारी र मस्र्याङ्दीको सौन्दर्यले मन हर्छ । खास गरी, मंसिरदेखि माघसम्म ‘ह्वाइट लेक’ देखिन्छ ।
नेवार समुदायको बसोबास हुनुअघि बजारमा मगर बस्ती थियो । आज जातीय विविधता देखिन्छ । गुरुङ, मगर, नेवार, क्षत्री, बाहुन मिलेर बसेको रंगिन फूलबारीजस्तै छ बन्दीपुर ।
बजारबाट डेढ घण्टा तल अजंगको सिद्धगुफा छ । त्यसभित्र कतै साँघुरो गल्छी छ भने कतै फुटबल खेल्न मिल्ने फराकिलो चौर । साथै, विभिन्न देवदेवीका आकृति झल्काउने चित्राकृति पनि छन् । गुफा पूरै घुम्न तीन घण्टा लाग्छ । गुफामा गाइडबिना घुम्न सकिँदैन । टिकट काउन्टरमा गाइड सुविधा पाइन्छ ।
गाउँमा केही मन्दिर छन्, विन्ध्यवासिनी, थानीमाई, खड्गदेवी, महालक्ष्मी र महादेवका । बजारमाथि डाँडामा एउटा गुम्बा छ । गुम्बाभित्र शाक्यमुनि बुद्धका मूर्ति छन् ।
डाँडामा एउटा शहीद स्मारक छ । विसं २००७ को जनक्रान्तिका बेला तनहुँका सात जना शहीद भएका थिए । पुलिम¥याङका धर्मध्वज थापा, तनहुँसुरका उत्तमकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ र सन्तबहादुर रानामगर, सिम्पानीका चन्द्रबहादुर सार्की तथा वसन्तपुरका खड्गबहादुर गोदार । त्यहाँ पुगेर उनीहरूप्रति श्रद्धाको मनफूल चढाउन सकिन्छ ।
बजारबाट गुरुङचेडाँडा, बाहुनभञ्ज्याङ, झारागाउँ हँुदै ताकमारेको डाँडा, छिम्केश्वरी, रामकोट, हिलेखर्क, बाघथला हाइकिङ गर्न सकिन्छ । नजिकैको गुरुङचेडाँडा सूर्योदय र सूर्यास्त हेर्न कहलिएको छ ।
पोखराको आकाशमा चराझैँ फनफनी घुम्ने सुविधा बन्दीपुरमा पनि पाइन्छ । केही कम्पनीले बन्दीपुरबाट प्याराग्लाइडिङ गराउँछन् । बन्दीपुर बजारमै तिनका काउन्टर छन् । टिकट काटेर उड्न सकिन्छ । बजेट र रुचिअनुसार २५ मिनेटदेखि एक घण्टासम्म बन्दीपुरमाथिको आकाशमा फन्को मार्न सकिन्छ ।
बन्दीपुर क्षेत्रकै विमलनगरमा चट्टान आरोहण गर्न सकिन्छ । त्यहाँको प्राकृतिक चट्टानमा अनुभवीहरू आरोहण गर्छन् । पृथ्वीराजमार्गसँगै जोडिएको चट्टानमा गाइडको रेखदेखमा आरोहण गराइन्छ ।
मुख्य बजारमा सूचना केन्द्र छ । त्यहाँबाट बन्दीपुर क्षेत्रको जानकारी लिन सकिन्छ । आवश्यक गाइड र सहयोगीको चाँजोपाँजो पनि त्यहीँबाट मिल्छ ।
बजारबाट बन्दीपुर लेखिएका टिसर्ट, हँसियासहित खुर्पेटो, ताउलो, साना गाग्री, कलश, दियो र गेडागुडी कासेली ल्याउन सकिन्छ ।
बजार छेउको चन्दिनी पिपलथोकमा होम–स्टे सुविधा छ । त्यहाँ नेवार, क्षत्री, सुनार, मगर र कपालीका १५ घरमा होम–स्टे गराइन्छ । जहाँ एकै रात ७० जना अटाउँछन् । ६ सय ५० रुपैयाँको होम–स्टे प्याकेजमा खाजा, खाना र बासको सुविधा पाइन्छ ।