काठमाडौँ, १६ वैशाख : देशको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणमा सञ्चार क्षेत्रले यथार्थ सूचना तथा समाचार प्रवाहका माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको
छ ।
कुमारी क्लबद्वारा आयोजित २१ दिने पत्रकारिता तथा उद्घोषण प्रशिक्षणको समापन कार्यक्रममा सहभागी वक्ताले जनताको वास्तविक समस्या सरकारलाई र सरकारले उनीहरुका कल्याणका लागि गरेका गतिविधि जनतासम्म लैजाने काम सञ्चारकर्मीले गर्नुपर्ने सुझाउनुभयो ।
राष्ट्रियसभा सदस्य कोमल ओलीले सो क्षेत्रले राज्यका विभिन्न अंग तथा संवैधानिक शक्तिका भूमिका सन्तुलित भए नभएको विषयलाई खोज अनुसन्धान गरी नागरिकका पक्षमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष मोहनकुमार बस्नेतले समाजमा गरिबी न्यूनीकरण, आर्थिक विकास, आवाजविहीनको पक्षमा रही पत्रकारले सत्य, तथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
क्लबका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज राजभण्डारीले पछिल्लो समय सूचना प्रविधिको विकासले सर्वसाधारणको जनजीवनमा सहज भएसँगै सञ्चार क्षेत्रको अध्ययनप्रति युवा पुस्ताको आकर्षण बढेको विचार व्यक्त गर्नुभयो । प्रशिक्षणमा सहभागी ४२ विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । (रासस)