Logo

‘एयर ट्राफिक’ समस्याले यात्रुलाई सास्ती, मन्त्रीलाई मस्ती !



काठमाडौं, १६ बैशाख । अहिले देशका विभिन्न विमानस्थलमा ‘एयर ट्राफिक’ को समस्याले यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । नेपालगञ्ज, भैरहवा, पोखरा, विराटनगर, जनकपुर, सिमरा लगायतका विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ ।

यसको प्रत्यक्ष असर यात्रुहरुलाई परिरहेको छ । हवाईजहाजको संख्या बढेपछि उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत अहिले प्रायः सबै विमानस्थलमा उतिकै समस्या रहेको छ । उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्ज, भैरहवाको आकाशमै जहाज होल्ड गर्न थालेको छ । नेपालगञ्ज–काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको विमानस्थल कार्यालय निकट स्रोतले जनाएको छ ।

काठमाडौंको आकाशमा एयर ट्राफिक जामले ‘सेड्युअल फ्लाइट’ व्यवस्थापन गर्न समेत अहिले हम्मेहम्मे परेको छ । घण्टौघण्टासम्म पनि यात्रुहरु आकाशमै रहनुपर्ने बाध्यता रहेको छ ।

तर, विभागीय मन्त्री रविन्द्र अधिकारी भने यात्रुलाई परेको सास्ती बुझेरपनि नबुझेको जस्तो भएर बसेका छन् । उनी स्वयम् यतिवेला लुम्बिनीमा छन् । भैरहवा विमानस्थलमा पनि व्यापक समस्या छ ।

उनको ध्यान अब त्यतातिर जान जरुरी छ । यात्रुहरुलाई परेको मार बुझेरपनि नबुझेकोजस्तो गर्नु भनेको गैरजिम्मेवारपन हो । देश विकासमा महत्वपूर्ण क्षेत्र मानिएको पर्यटनको विकासको लागि मन्त्रीले विशेष ध्यान दिनुपर्छ । देशका सबै विमानस्थलहरुको स्तरोन्नती आजको आवश्यकत्ता हो ।



प्रतिक्रिया दिनुहोस्