भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल हुन्छ । मोदीको भ्रमणबाट विगतमा नेपाल–भारतबिचमा भएका समझदारीका विषयहरुलाई थप टुङ्गोमा पुर्याउनुपर्ने छ । केही विषयहरु प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला उठान भएका छन् । ति विषयलाई पनि अगाडि बढाउनुपर्ने छ ।
हवाई रुटको कुरा उठान गरिएको छ । भारतले नेपाल प्रवेश गर्ने अन्तराष्ट्रिय रुट एक ठाउँबाट मात्रै दिएको छ । हामीले अरु तीन ठाउँबाट पनि एयर रुट मागेका छौँ । विराटनगर, भैरहवा र सुदुरपश्चिमबाट पनि रुट मागेका छौँ । अहिले सिमराबाट मात्रै दिइएको छ । विमानस्थल पनि थपिदै छ । त्यसैले पनि एयर रुट थप्नु जरुरी छ ।
तराई क्षेत्रको डुबानको समस्या पनि उठाएका छौँ । डुबानको समस्याबाट नेपाल जुन पीडित छ, यो समस्या समाधानका लागि दुवै देशका प्रतिनिधी अवलोकनमा जाने र समाधानको उपाय खोज्ने कुरा भएको छ । यसलाई तुरुन्तै कार्यान्वयनमा ल्याउनु जरुरी छ ।
विराटनगरमा भारतले अनधिकृत रुपमा राखेको महावाणिज्यदूतको कार्यालय त भ्रमण अघि नै हटाउनुपर्ने छ । हटाउने कुरामा सहमति भएको छ । भारतीय प्रधानमन्त्री मादीले ओलीसँगको भेटमा हटाउने प्रतिवद्धता व्यक्त गरिसक्नुभएको छ ।
नेपाल र भारतबाचिमा सन् २०१४ मा पावर ट्रेड सम्झौता (पिपिए) भएको थियो । २०१६ मा भारतले निहु खोज्ने हिसाबले एउटा निर्देशिका ल्यायो । त्यसभित्र ५१ प्रतिशत भारतीय लगानी भएकाहरु मात्रै विद्युत किन्छौँ भन्ने उल्लेख छ । त्यो पिपिएको भावना विपरित छ । त्यसलाई हटाउने कुरा भएको छ । यसपटक टुङ्ग्याउनुपर्छ ।
नेपालीहरुले किनेको ग्यास बुलेट भारतमा अड्किएको छ । त्यो पनि ल्याउने कुरामा सहमति भएको छ । त्यसको कार्यान्वयन हुनुपर्छ ।
जलमार्ग र रेलमार्गका विषयमा पनि प्रारम्भिक सहमति भएको छ । अब त्यसलाई कार्यान्वयन गर्नका लागि दुवै देश प्रतिवद्ध हुनुपर्छ । कृषि क्षेत्रका विभिन्न योजनाहरु कार्यान्वयनको आधारभूत कुराहरु अगाडि बढाउनुपर्छ ।
विगतमा धेरै सहमति र सम्झौता भएर पनि कार्यान्वयन नभएको अवस्था छ । अहिले हामी नयाँ ढंगले अगाडि जान खोजेका छौँ । विगतका कमी कमजोरी हटाएर दुई देशबिचको सम्बन्धलाई पारस्परिक सम्मान, समानता र हितका आधारमा अगाडि बढाउने कुरामा मोदी र ओलीबिच सहमति भएको छ । फेरी भारत यस्ता साना कुरामा अल्झिने, विगतमा भएका सहमति कार्यान्वयन नगर्ने, अहिले भएका सहमति कार्यान्वयनमा पनि आलटाल गर्ने हो भने त सम्बन्ध उही पुरानै शैलीको हुन्छ नि ।
ओलीको भारत भ्रमणका क्रममा आएको संयुक्त विज्ञप्ति विगतको भन्दा पृथक छ । वातावरण पनि पहिलाको जस्तो छैन । अब करेक्सन गरेर नयाँ उचाईका साथ सम्बन्ध अगाडि बढाउनुपर्छ । सम्बन्ध सुधारका लागि विगतमा भएका भेदभावपूर्ण व्यवहारलाई छिटो अन्त्य गरेर दीर्घकालिन हिसाबले २१ औँ शताब्दीको आवश्यकता, जनताको चेतना र अभ्यासका आधारमा दुई देशबिचको सम्बन्ध अगाडि बढाउने समझदारी भएको छ । अब त्यही अनुसार सोच्नुपर्छ ।
वैशाख १७, काठमाण्डौ ।