काठमाडौँ, १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्मका प्रणेता गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न आग्रह गर्नुभएको छ ।
दुई हजार ५६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्धजयन्ती समारोह समिति, आनन्दकुटी विहार स्वयम्भूद्वारा यहाँ आज आयोजित सार्वजनिक बौद्धसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय देशका विद्यालय र कलेजका कोर्षमा गौतमबुद्धबारे गलत पढाइ भइरहेको छ, त्यसो गर्नु राम्रो होइन, सच्याउनुपर्छ ।”
उहाँले आज पनि गौतमबुद्धका विचार, शिक्षा र उपदेशको उत्तिकै महत्व छ, उत्तिकै उपयोगी छ भन्नुभयो । अर्काे प्रसङ्गमा उहाँले धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा तर बलियो ढंगबाट जतिसक्दो चाँडो निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो । समारोह समितिका महासचिव संघरत्न शाक्यले बुद्ध शिक्षाबारे विद्यालयस्तरको पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)