Logo

समृद्धिका लागि जनशक्ति प्रयोग गर्नेमा प्रतिवद्ध छु : श्रममन्त्री विष्ट



वैशाख १८, काठमाण्डौ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो ।

विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले श्रमिक र मजदुरसँग नीति तथा ऐनहरु आवश्यकताअनुसार परिमार्जन गरेर हक अधिकार दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री विष्टले श्रम ऐन, वैदेशिक रोजगार ऐन, सामाजिक सुरक्षा ऐन लगायतका ऐनलाई समय सन्दर्भअनुसार सामुहिक बनाउँदै लैजाने उनले बताए ।

श्रमप्रति सम्मान जगाएर नेपालको समृद्धिका लागि जनशक्ति प्रयोग गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताउदै मन्त्री विष्टले संविधानले दिएको श्रमिक वा मजदुरको अधिकार स्थापित गराउने दाबी गरे ।

श्रमिकहरुको समस्याको समाधान खोज्ने कुरामा सरकार गम्भीर भएर लागेको उनको भनाई छ ।

सन् १८८९ मे १ मा अमेरिकाको शिकागो शहरका मजदुरहरुले आन्दोलन गरेर ८ घण्टे कार्यदिन लागू भएपछि यसैको उपलक्ष्यमा सन् १८९० देखि संसारभरिका मजदुरले मे १ को दिनलाई अन्तरराष्ट्रिय मजदुर दिवसका रुपमा मनाउने प्रचलन सुरु भएको हो । शिकागो मजदुर आन्दोलनको उपलब्धीका रुपमा विश्वभरि ८ घण्टा ड्युटीलाई एक दिन मानेर गणना गर्ने प्रचलन रहेको छ । गत वर्षको तथ्यांकअनुसार नेपालमा निजी एवं सरकारी क्षेत्रमा कार्यरत मजदुर र कर्मचारीको संख्या १ करोड १८ लाखको हाराहारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्