Logo

साढे ३३ केजी सुन प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता



विराटनगर, १९ वैशाख । साढे ३३ किलो सुन तस्करी प्रकरणमा ६३ जनाविरूद्ध बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित २९ जना र अरुलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको हो ।

साढे ३३ किलो सुन तस्करीको मुद्दामा अभियुक्तहरुबाट १७ करोड रुपैयाँ बराबरको विगो भराउन मागसमेत गरिएको छ । २०७० सालयता ३ हजार ८०० किलो सुन तस्करी भएर आएको भन्दै सोबापत १७ अर्ब १ करोड ८० लाख ७१ हजारभन्दा बढी रकम विगोबापत असुल उपर गर्नुपर्ने माग गरिएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले सुनको अवैध चोरी–पैठारी तथा निकासी, अपरहण, शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए ।

उनीहरुको बिहीबार (भोलि)देखि बयान लिनेक्रम सुरु हुने स्रेस्तेदार दुलालले बताए । मुद्दा दर्ता गरिएका बहालवाला प्रहरी अधिकारीहरुमा वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरीजवान विष्णुबहादुर खड्का तथा पूर्वडीआईजी गोविन्द निरौला रहेका छन् ।

यस्तै, विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बीर तोलांगे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल र तुलाराम थारू रहेका छन् ।

व्यापारीहरु महावीर गोल्यान, राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ । मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भनिने मोहन घिमिरेविरुद्ध कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाइएको छ ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेती भने अझै फरार छन् । उनी भारतमा लुकेर बसेको हुनसक्ने आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्