Logo

निजी विद्यालयबाट पैसा खाएको आरोप लागेपछि नेवि संघ अध्यक्ष महरको यस्तो स्पष्टिकरण (भिडियो)



वैशाख २०, काठमाण्डौ । विद्यार्थी संगठनहरुले निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् ।
निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन र एनप्याब्सन नै लागेको भन्दै अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन् ।

प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालय काठमाडौंमा तालाबन्दी गर्न विद्यार्थी संगठनका पदाधिकारी नै सहभागी भएका थिए ।

यसै सम्बन्धमा कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मापदण्ड विपरित निजी विद्यालयहरुले शुल्क लिने गरेकाले त्यसलाई रोक्नका लागि तालाबन्दी गरिएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष महरले निजी विद्यालयहरुको छाता संगठन भएकाले प्याब्सन र एन प्याब्सनका देशभरी रहेका कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिए ।

त्यसैगरी सम्बन्धित सबै सरकारी निकायमा पनि ध्यानाकर्षण पत्र पठाइएको महरले बताए ।

विगतमा पनि नयाँ शैक्षिक सत्र सुरु भएपछि निजी विद्यालयहरुले शुल्क बढाउने, विद्यार्थी संगठनले विरोध गर्ने, तर शुल्क वृद्धिको निर्णय फिर्ता नहुने प्रवृत्ति थियो । विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुसँग पैसा लिएर आन्दोलन तुहाउने गरेको अरोप लाग्ने गरेको छ ।

अध्यक्ष महरले भने पैसा खाएर शुल्क वृद्धिविरुद्धको आन्दोलन तुहाएको भन्ने आरोपको खण्डन गरे ।

“नेपाल विद्यार्थी संगठनले पाँच सय रुपैयाँ मात्रै लिएको थाहा पाउनुभयो भने म राजिनामा दिन तयार छु ।” महरले भने ।

धमलाको प्रश्नले पानीपानी बनेका महरले रिपोर्टस क्लबले पनि करोडौँ रुपैयाँ उठाएर कार्यक्रम गर्ने गरेको झुटो आरोप लगाए ।

“यसपटक हामीले आन्दोलनको स्वरुपलाई फेरेका छाँै । मेरै प्रस्तावमा निजी विद्यालयहरुको छाता संगठनको कार्यालयमा तालाबन्दी गरेका छौँ । सम्बन्धित सरकारी निकायलाई ध्यानाकर्षण गरेका छौँ । कुनै विद्यालयमा तालाबन्दी वा पैसा माग्ने काम गरेका छैनौँ ।” महरले भने ।

इन्धनको मूल्यवृद्धि हुँदा किन चुप लागेर बस्नुहुन्छ भन्ने धमलाको प्रश्नमा महरले अन्तराष्ट्रिय बजारबाट इन्धन खरिद गरेर विक्रि गर्नुपर्ने बाध्यताका कारण समस्या हुने गरेको बताए ।

“अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा नेपाली बजारमा स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढ्ने विषयमा हामीले सम्झौता गरेका छौँ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा नेपालमा बढ्यो भनेर धेरै आश्चर्य मान्न पर्दैन ।” महरले भने ।



प्रतिक्रिया दिनुहोस्