Logo

सिंहदरबारका कर्मचारीहरु नै बिक्रि भएका छन् : अध्यक्ष तामाङ



काठमाडौं, २० बैशाख । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नलिए निर्देशिका अनुसार सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्यावसनका अध्यक्षले निर्देशिका पालना गरेको दाबी गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष तामाङले निजी विद्यालयले मनोमानी रुपमा शुल्कवृद्धि गरेको गम्भिर आरोप लगाए ।

उनले भने,‘हाम्रो माँग शुल्कवृद्धि फिर्ता हुनुपर्छ भन्ने हो, निजी विद्यालयले शिक्षामा ठूलो योगदान दिएका छन्, महंगी बढेको बाहनामा चर्को मूल्यवृद्धि गर्न निजी विद्यायललाई छुट छैन्, निर्देशिका कार्यान्वयन गर्ने कुनै विद्यालयनै छैनन्, यदि आज नै हामीसँग निर्देशिका मान्ने कमिटमेन्ट गर्नुहुन्छ भने हामीले अहिले नै ताला खोल्न निर्देशन दिन्छौं ।’

उनले आफूहरुलाई यतिवेला शंका लाग्न थालेको बताउँदै भने,‘सिंहदरबारका कर्मचारीहरु नै बिक्रि भएका छन्, नियमनमा रहेका कर्मचारीहरुमाथि शंका छ, अबका केही समयभित्र शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलन हुन्छ ।’

त्यस्तै कार्यक्रममा अनेरास्ववियूका कोषाध्यक्ष झपिन्द्र खत्रीले निजी विद्यालयले बढाएको शुल्कवृद्धि यथाशक्य फिर्ता लिन आग्रह गरेका छन् ।
उनले भने,‘अनाश्यक शिर्षकमा शुल्क लिने काम भएको छ, मनपरितन्त्रले शुल्कवृद्धि गर्ने काम भएको छ, हामी विद्यार्थी संगठनहरु विद्यार्थीको हकहितको लागि जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।’

कार्यक्रममा अभिभावक संघका अध्यक्ष केशव पुरीले निजी विद्यालयले गर्ने निरन्तरको शुल्कवृद्धिले आफुहरु ठूलो मर्कामा परेको दुःखेसो पोखे ।
उनले भने,‘विद्यार्थी नेताहरु आन्दोलन गर्नुहुन्छ, केही समयका लागि माँग पूरा भएजस्तो गरिन्छ, फेरी अर्को नयाँ वर्षमा उही पाराले शुल्कवृद्धि गरिन्छ, यस्तो स्थितिमा गरिब अभिभावकहरु पीडामा पर्ने गरेका छन्, सरकारले गम्भिर कदम चालोस्, सम्पूर्ण अभिावकहरुको ढाड सेक्नेगरि भएको शुल्कवृद्धि फिर्ता होस् ।’

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारसँग आग्रह गरे । उनले नेताहरुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्