Logo

सुन कान्ड : मुख्य आरोपी गोरेका ड्राइभरसहित ६ जनाको बयान लिइयो



विराटनगर, २० वैशाख । मोरङ जिल्ला अदालतमा साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएकामध्ये ६ अभियुक्तको बयान लिने काम सकिएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलासले बिहीबार ७ घन्टा लगाएर उनीहरूको बयान सकेको हो । बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिएको थियो ।

मुद्दा दायर गरिएकामध्ये २९ जना प्रहरीको नियन्त्रणमा छन् भने मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ र एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।

इजलास बिहीबार बिहान ११ बजेदेखि सुरु भएको थियो । अभियुक्तहरु टेकराज मल्ल ठकुरी, मोेहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की, र राजनकुमारको बयान लिने काम सकिएको छ ।

अदालतमा सरकारका तर्फबाट बहस गर्न उच्च अदालत विराटनगरका सहमहान्यायाधिवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा बयान लिइएको हो । अदालतका स्रेस्तेदार नवराज दुलालकाअनुसार बिहीबार बयान लिइएका टेकराज मल्ल मुख्य आरोपी ‘गोरे’का ड्राइभर हुन् । उनी गोरेका एक मुख्य विश्वासपात्र पनि हुन् ।

यातना दिएर मारिएका मोरङ, उर्लाबारीका सनम शाक्यको शव राखिएको स्कार्पियो गाडी मल्लले नै चलाएका थिए । उनले जंगलमा रातभरि गाडीको शव कुरेर रात बिताएको बयान दिएका छन् ।

त्यस्तै, मोहन र कृष्ण तस्करीको सुनका भरिया हुन् । कृष्ण विद्यालयमा गोरेका सहपाठीसमेत भएको र उनीहरूको घर एकै ठाउँमा रहेको बताइएको छ ।

राजनकुमार सुनको धन्दाका एक प्रमुख लगानीकर्ता मानिएका मोहनकुमार अग्रवालका ड्राइभर भएको र वीरगन्ज हुँदै अग्रवाललाई भारत पुर्‍याउने कार्य गरेको अभियोग उनलाई लगाइएको छ ।

अर्का अभियुक्त लाक्पा पनि ड्राइभर नै भएको प्रहरीले जनाएको छ । लाक्पाले नै ‘गोरे’लाई जोगबनीसम्म गाडीमा पुर्‍याएर भारततर्फ भाग्न सहयोग गरेको आरोप छ ।

अर्का अभियुक्त मदनकुमार पनि भरिया भएको र सनमलाई यातना दिनेक्रममा उनी पनि घटनास्थलमा रहेको अभियोग छ । स्रेस्तेदार दुलालले जिल्ला अदालतका ६ अधिकृतको छुट्टाछुट्टै टोलीले बयान सुरु गरेको र तीन/चार दिनभित्र बयान सकिने लक्ष्य राखिएको बताए ।



प्रतिक्रिया दिनुहोस्