Logo

भारतका प्रम मोदी पोखरा पनि घुम्ने, यस्तो छ तयारी



वैशाख २१, काठमाण्डौ ।  प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन्।

शक्ति राष्ट्रका रुपमा अघि बढेको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गर्दै केही समय पोखरामा पनि बिताउने कुरा यतिखेर चासो र चर्चाको विषय बनेको छ।

प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरे पछि उहाँ केही समय पोखरा आउने कुरासँगै पोखरामा उच्च सुरक्षा व्यवस्था गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए।

“मुक्तिनाथ दर्शनका क्रममा प्रधानमन्त्री मोदी पोखरा आउने र केही समय भारतीय पेन्सन क्याम्पमा बस्ने भन्ने कुरा आएको छ,” – उनले भने। मोदी आउने कुरासँगै भारतीय पेन्सन क्याम्पले वरपरको सरसफाइ गर्न सुरु गरिसकेको छ भने मुस्ताङमा तयारीलाई तीव्र बनाइएको छ।

मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी स्थानीय व्यवस्थापनका लागि मुक्तिनाथ मन्दिर रहेको वाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख छेन्तोक छेप्तेन गुरुङको संयोजकत्वमा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सदस्य सचिव रहेको सात सदस्यीय समिति गठन गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।

उनका अनुसार उक्त समितिका सल्लाहकारमा बहालवाला सांसद, जिल्ला समन्वय समितिका सभापति, पूर्वसांसद एवं मन्त्री रहेका छन्। समितिको संयोजनमा सरसफाइलगायत स्थानीय व्यवस्थापनका काम अघि बढिरहेको उनले जानकारी दिए।

मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी मुस्ताङमा प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको संयोजकत्वमा तीनवटै सुरक्षा निकायका प्रमुख रहनुभएको सुरक्षा समितिले उच्च सुरक्षा प्रबन्धको काम सुरु गरिएको छ।

प्रधानमन्त्री मोदी मुक्तिनाथको दर्शन गर्न आउने भएपछि स्थानीयवासी निकै हर्षित बनेको वाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए।

“भ्रमणलाई लक्षित गरी सरसफाइ, स्वागतद्वार निर्माण जस्ता कामलाई अघि बढाइएको छ,” उनले भने , “अतिविशिष्ट पाहुनाको भ्रमण यहाँका लागि महत्वपूर्ण विषय हो।”

मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री मोदी पोखरा आउने विषयले यतिखेर पोखराको सरगर्मी पनि बढेको पाइन्छ।

विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा रहेको पोखरामा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिको भ्रमणमध्ये आगामी वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लागेको भ्रमण सबैभन्दा पछिल्लो हो।

यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजाबेथ द्वितीया तथा सन् १९६३ मा भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णनले पनि पोखरा भ्रमण गरेका थिए।

२०७२ चैत १ गतेदेखि ४ गतेसम्म पोखरामा सञ्चालित सार्क मन्त्रिपरिषद् बैठकमा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना तथा बेलायती राजकुमार ह्यारी २०७३ जेठ ८ गते पोखरा आएका थिए। राजकुमार ह्यारीको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १९ गते पोखरा आएका थिए।

छोटो समयको भ्रमणका क्रममा यहाँस्थित भारतीय पेन्सन क्याम्पमा नेपाली भूतपूर्व भारतीय गोर्खा सैनिकलाई गरेको ११ मिनेटको सम्बोधनको सुरूमै राष्ट्रपति मुखर्जीले पोखराको सुन्दर नगरीको अवलोकनका लागि अवसर जुट्नु आफ्ना लागि सन्तोषको विषय भएको बताएका थिए।

वैशाख २८ नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शनसँगै पोखरामा हुने भनिएको आगमनले समग्र प्रदेश नं ४ कै धार्मिक एवं पर्यटकीय महत्वलाई बढाउने पर्यटन संबद्ध व्यवसायी बताउँछन्। रासस



प्रतिक्रिया दिनुहोस्