Logo

प्रचण्ड, उपेन्द्र र बाबुरामबीच नयाँ गठबन्धन बन्दै, ओली अप्ठ्यारोमा



वैशाख २१, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबिचको भेटवार्ता बाक्लिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग एकताका लागि सघन वार्ता चलिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड नयाँ रणनीतिमा लागेको बुझिएको छ ।

एमालेसँग पार्टी एकता गर्न लागेका प्रचण्ड आफूले भनेअनुसार नहुने आशंका बढेपछि नयाँ गठबन्धनको तयारीमा लागेका हुन् । यसैका लागि प्रचण्डले आफ्नै निवासमा भट्टराई र यादवलाई बोलाएर शुक्रबार विहान एक घण्टा छलफल गरेका थिए ।

यसअघि पनि भट्टराईले यादवसँग पार्टी एकता गर्ने प्रयास गरेका थिए । तर त्यसबेला हुन सकेन । चुनावअघि बनेको बाम गठबन्धनमा पनि भट्टराई सहभागि थिए । उक्त गठबन्धनमा पनि कुरा नमिलेपछि उन बाहिरिएका थिए ।

अहिले एकता गर्ने प्रक्रिया चलिरहँदा प्रचण्डले आफ्नो पार्टीलाई फाइदा नहुने देखेपछि भट्टराई र यादवसँग छलफल गरेर कस्तो रणनीति बनाउने भन्ने गृहकार्यमा लागेका हुन् ।

शुक्रबार विहान प्रचण्ड निवासमा तीन नेताको एक घण्टा बैठक चलेको थियो । बैठकपछि ऋषि धमलासँग कुरा गर्दै यादवले समसामयिक राजनीतिका बारेमा छलफल गरिएको बताए ।

उपेन्द्र यादवले धमलालाई भने, “हामीले हरेक विषयमा कुराकानी गरेका छौँ ।”

संविधान संशोधनको विषयमा लिखित सहमति नभएसम्म सरकारमा नजाने पनि यादवले स्पष्ट पारेका थिए ।

तर गोप्य रुपमा भएको भेटले नयाँ राजनीतिक रणनीति र समिकरण बनाउन खोजिएको अनुमान गरिएको छ।

एमालेले एकता गर्ने भन्ने तर माओवादीले भनेजस्तो सम्मानजनक वा बराबरी हैसियतमा व्यवस्थापन नगर्ने आशंका प्रचण्डले गरिरहेका बेला भट्टराई र यादवसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्