काठमाडौँ, २१ वैशाख / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याएर कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने प्रयासमा सरकार लागिपरेको बताउनुभएको छ ।
सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज यहाँ समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार जलस्रोतको बहुउद्देश्यीय उपयोगमा ध्यान दिने योजनाका साथ लागिपरेको तथा ऊर्जा, सिँचाइ, खानेपानी तथा कृषिउपजको विविधीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन लागेको जानकारी दिनुभयो ।
आर्थिक समृद्धि र जनताको जीवनस्तर उठाउन प्राकृतिक स्रोत तथा साधनको विशेष उपयोग गर्न आवश्यक रणनीति तयार गरिसकिएको जानकारी मन्त्री पुनले दिनुभयो ।
तीनदिने सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता थियो । नेपालमा पहिलो पटक आयोजित सो सम्मेलनमा सिँचाइमार्फत कृषि उत्पादन वृद्धि गरी गरीबी निवारणमा योगदान पु¥याउने लक्ष्यबारे छलफल गरिएको थियो ।
ऊर्जा मन्त्रालय र सिँचाइ तथा जलविकास नियोगद्वारा संयुक्त रूपमा आयोजित सो सम्मेलनको नारा ‘हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने छ । जलस्रोतका क्षेत्रका काम गर्ने सो नियोग विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । नेपालले सो संस्थाको सदस्यता सन् १९७३ मा लिएको थियो । सम्मेलन गत बुधबार राष्ट्रपतिले उद्घाटन गर्नुभएको थियो ।
नियोगका अध्यक्ष फेलिक्स राइन्डर्सले नेपालको जलस्रोत नै आर्थिक विकासको आधार हुने हुँदा पानीको अधिकतम सदुपयोगमा ध्यान दिइनुपर्ने बताउनुभयो । ऊर्जा मन्त्रालयका सचिव सञ्जय शर्माले सिँचाइ तथा जल व्यवस्थापनमा थप विकास गर्न सम्मेलन महत्वपूर्ण रहेको बताउनुभयो । (रासस)