काठमाडौं, २३ बशाख । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आफ्नो बाँच्न पाउने हक गुमेको भन्दै स्वदेश फिर्ता हुने वातावरण मिलाई दिन नेपाल सरकारसँग माँग गरेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता रिजालले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा लेखेको पत्र समेत वाचन गरेका छन् ।
उनले भने,‘छिमेकी राष्ट्रको हिसाबमा भारतीय प्रधानमन्त्री मोदीजीले हाम्रो बारेमा केही गर्नुहुन्छ कि भन्ने आशा गरेका छौं, हाम्रा सन्तानहरु कोही कतै, कोही कतै छन्, भुटानी राजाले त्यतिखेर हाम्रा आफ्न्तलाई सिधासिधा गोली हानेर मार्यो, कति नारीहरु बलात्कृत बने, आज भूटानमा प्रजातन्त्र आयो भनिन्छ, तर हामीमाथिको व्यबहार उस्तै प्रकारको छ, न्याय दिने ठाउँबाहेक सबै शासन प्रणाली राजाकै चलेको छ, मैले निरंकुशताको बिरुद्धमा १० वर्ष जेल जीवन भोगेको छु, भुटानबाट नेपाल आउँदा तात्कालिन राजा वीरेन्द्रको आदेशमा मलाई हत्कडी लगाएर भुटान पठाईयो मैले १० वर्षको कठोर जेल सजाय भोगें, पछि विश्वको दबाबमा म जेलबाट छुटें, तर मेरो देशमा बस्न सकिन म फेरी नेपाल आएर जीवन जोगाएँ ।’
सन १९९१ मा भेटानी राजाको खेदाईपछि नेपाल आईपुगेका १ लाख १२ हजार भुटानीहरु मध्ये केवल ९ हजार जति भुटान फर्किन चाहेको भन्दै नेता रिजालले भुटानी सरकारसँग उच्च तहको वार्ता गरिदिन नेपाल सरकारलाई आग्रह समेत गरे ।
उनले भने,‘नेपालप्रति हामी ठूलो ऋणि छौं, आजका दिनसम्म हामीलाई बस्न दियो, खान दियो, हामी नेपाली भाषी भुटानी हौं, हाम्रो अधिकारको लागि नेपाल सरकारले जति भूमिका अरु कसैको हुँदैन, बाँकी ९ हजारलाई तत्काल स्वदेश फर्किने वातावरण मिलाउनको लागि जोडदार माँग गर्दछु ।’
उनले अघि थपे,‘पत्रकारले गरे के हुँदैन, भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीबीचको भेटमा हाम्रो विषय उठाईदिनको लागि आग्रह गरिदिनुस्, हामी हाम्रै देशमा जान चाहन्छाँैं कतिसम्म हामी यसरी बेखबर भएर बाँच्ने म ७२ वर्षको भएँ, उत्पीडनको आन्दोलन गर्नु नै अभिषाप भयोजस्तो लाग्छ ।’
नेता रिजालले भुटानमा प्रजातन्त्र आएको भनिएपनि अझै ८० हजार भुटानी नागरिकले नागरिकता नपाएको दुःखेसो पोखे ।