Logo

विगतको तित्तता मेटाउने प्रयासस्वरुप मोदी नेपाल आउँदैछन् : डा. खड्का (भिडियोसहित)



काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही बैशाख २८ र २९ गते हुने दुई दिने नेपाल भ्रमणलाई सद्भाव भ्रमणको संज्ञा दिएका छन् । उनले भने,”मोदीजीको नेपाल भ्रमण यो तेस्रो पटक हो, उहाँको नेपाल भ्रमण सद्भाव भ्रमण भएकोले राम्रै हुन्छ।”

आईतबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा नेता खड्काले यस्तो बताएका हुन् । उनले भने, “नेपालमा अहिले बनेको नयाँ सरकारसँग सम्बन्ध सुधार गर्ने मोदीजीको चाहना छ, खासगरी अहिलेको सरकारको नेतृत्व गरेका केपी ओलीजीसँग सम्बन्ध सुधार गर्ने उहाँको चाहना हो।”

भारतले नाकाबन्दीको विरोध गरेर ओलीले राष्टवादीको छवि बनाएको उनको भनाई थियो । विगतमा नेपाल भारत द्धिपक्षीय सम्बन्ध रहेका तित्तताहरु मेट्ने प्रयासस्वरुप भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लागेको उनको तर्क छ ।

उनले थपे, “हाम्रो प्रधानमन्त्री ओलीजी अस्ति भर्खरै भारत जानुभएको हो, अहिले मोदी तुरुन्त आउँदैमा नयाँ सम्झौता त केही गर्नुपर्ने थिएन, तथापि मोदीजीले म आउँछु भनिहाँले भनेर भन्नुभएको छ, उहाँ राम्रो जेष्चर देखाएर फर्किनुहुनेछ।”

मोदीको नेपाल भ्रमणसँगै आगामी दिनमा नेपाल भारत दुई देशबीचको सम्बन्ध झनै उचाईमा पुग्ने नेत खड्काको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्