Logo

विमानस्थलमा सुरक्षा जाँच गर्न विद्युतीय उपकरण जडान गरिने



सल्लेरी, सोलुखुम्बु, २३ वैशाख : आन्तरिक उडानमा निकै व्यस्त रहने सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थलमा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण जडान गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले आज विमानस्थलको निरीक्षण गर्दै विमानस्थलमा सुरक्षा जाँचका लागि विद्युतीय उपकरणकोे प्रयोग गर्न निर्देशन दिएसँगै उपकरण जडान हुने भएको हो ।

मन्त्री अधिकारीले विमानस्थलको स्थलगत निरीक्षण गर्दै सुरक्षा चेकजाँचमा अनिवार्य मेसिनको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले उपकरणको प्रयोग गर्दा आवश्यक पर्ने विद्युत्को प्रबन्ध मिलाउन गाउँपालिकालाई निर्देशन दिनुभयो ।

अहिले लुक्ला विमानस्थलमा यात्रुसहित उनीहरुको अन्य सामग्री नेपाल प्रहरीले हातैले जाँच गर्ने गर्छन् । उक्त विधि भरपर्दो नहुने भएकाले तत्काल सुरक्षा जाँचका लागि उपकरणको प्रयोग कार्यन्वयनमा ल्याउन मन्त्री अधिकारीले सुझाव दिनुभएको विमानस्थलको सुरक्षार्थ खटिइनुभएका प्रहरी नायब निरीक्षक देवनारायण महतोले जानकारी दिनुभयो ।

अधिकांश यात्रु बाह्य पर्यटक हुने भएकाले चेकजाँचका लागि उपकरण नहुँदा खिल्ली उडाउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ गाइड चुडामणि केसीका अनुसार पर्यटकको भीड लाग्ने विमानस्थलमा चेकजाँचका लागि उपकरण नहुँदा ढिला हुने र पर्यटकले समेत झन्झट मान्ने गर्छन् ।

नागरिक उडड्यन प्राधिकरण लुक्लाका अनुसार यहाँ दैनिक २०० सम्म उडान तथा अवतरण हुने गर्छ । यस्तै दर्जनौँ हेलिकप्टरले उडान भर्ने भए पनि ‘हेलीप्याड’ समेत अभाव देखिएको छ । विमानस्थलको अनुगमन गर्दै मन्त्री अधिकारीले तत्काल हेलीप्याड निमाण गर्नसमेत निर्देशन दिनुभयो ।

उहाँले हेलीप्याड सानो भएकाले आगामी जेठ १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ । पर्यटकीय क्षेत्रको हेलीप्याड अत्यन्तै व्यस्त हुने गरेको भए पनि हेलीप्याड सानो भएको मन्त्री अधिकारीको भनाइ छ । हेलीप्याड निर्माणका लागि यसअघि नै १० रोपनी जग्गा लुक्लामा नै खरिद भए पनि निर्माणको काम भने शुरु हुन सकेको छैन ।

त्यस्तै विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रुहरु समस्यामा पर्ने गरेका बताउँछन् ।

केही वर्षअघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएकोे भन्दै बन्द भएपनि पुनः सञ्चालन भएको छैन । (रासस)



प्रतिक्रिया दिनुहोस्