Logo

एक क्लासिको बराबरीमा, वार्सिलोनको अपराजित यात्रा कायमै



वैशाख २४, काठमाण्डौ । ला लिगामा रियल मड्रिडले बार्सिलोनासँग बराबरी खेलेको छ । मड्रिडसँग बराबरी खेलेसँगै वार्सिलोनाले यो सिजन अपराजित रहेर टुङ्ग्याउने सम्भावना बढेको छ ।

बार्सिलोनाले ला लिगामा सिंगो सिजन अपराजित रहन तीन खेल बाँकी छ ।

आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २–२ को बराबरी खेलेका हुन् ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा १० खेलाडीमा झरेको बार्सिलोनाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । निकै तनावपूर्ण खेलको १० औं मिनेटमा लुइस स्वारेजको गोल मार्फत बार्सिलोनाले अग्रता बनायो । तर १४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाका सार्गी रोबर्टोले रातो कार्ड पाए । १० खेलाडीमा सीमित बार्सिलोनाले दोस्रो हाफमा फेरि अग्रता लियो । उसका लागि ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे ।

तर, ७२ औं मिनेटमा बेलले बराबरी गोल गरे ।

दोस्रो हाफमा बार्सिलोना १० खेलाडीमा सीमित रहँदा रियलका रोनाल्डो घाइते भएका कारण मैदान बाहिर थिए । उनको स्थानमा एसेन्सिओ थिए ।

यो बराबरी बार्सिलोनाका लागि जित सरह हो । किनकी उ अझै चिरप्रतिद्वन्द्वी रियलभन्दा १५ अंकले अगाडि छ । साथै च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल पछिल्लो चार एल क्लासिको जित्न असफल रहृयो ।

यो बराबरीसँगै बार्सिलोनाले अब बाँकी तीन खेल नहारे ला लिगाको सिंगो सिजन अपराजितको रेकर्ड बनाउनेछ ।
यो खेलमा रेफ्रिको निर्णय पनि निकै विवादस्पद रह्यो । एकपटक जोर्डी अल्वाले मार्सेलोलाई फल गरे पनि पेनाल्टी दिएनन् भने पुरै खेलमा ८ वटा पहेलो कार्ड दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्