काठमाडौं, २४ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकतामा अहिले नयाँ ट्विस्ट देखा परेको छ ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विहान आफ्नो आधिकारिक ट्विटर एकाउन्टबाट एकताबारे संकेत गर्दै नयाँ ट्विट गरेपछि एकतामा नयाँ मोड आएको छ ।
यो हो ओलीको ट्विट :
K P Sharma Oli @kpsharmaoli 7h7 hours ago
हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुँदैन भनेर आज कडा अभिव्यक्ति दिएका छन् । ‘प्रचण्ड’ले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादीबीच एकता हुन नसक्ने भन्दै ओलीलाई कडा जवाफ फर्काएको हुन सक्ने माओवादी केन्द्रका एक नेताले संकेत गरे ।
सोमबार अपरान्ह वाइसीएल नेपाल केन्द्रीय स्कुलिङ विभागको आयोजनामा ‘समसामयिक परिस्थितिमा युवाहरुको भुमिका’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले एकताबारे अहिलेसम्मकै कडा अभिव्यक्ति दिएका हुन् ।
अध्यक्ष प्रचण्डले ठूलो लक्ष्य लिएको पार्टी, वैचारिक संगठन र स्थापित नेतृत्व अविचलित रही निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । यात्राको क्रममा थकाई मार्ने र निरन्तर आगाडि बढ्ने बताएका छन् ।
ओली होईन, प्रचण्डको ध्यान बाबुराम र उपेन्द्र
यतिवेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीभन्दापनि आफ्ना पूराना सहकर्मी एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई बढि महत्व दिन थालेका छन् । ओलीले एकताप्रति माओवादीलाई पेलेरै जाने रणनीति लिएकोेले प्रचण्डले बाबुरामसँग एकताको लागि हात अघि बढाएका छन् । पछिल्ला दिनहरुमा प्रचण्ड र बाबुराम निरन्तर भेटघाट तथा फोन सम्पर्कमा रहेको सूत्रहरुको दाबी छ ।
त्यस्तै प्रचण्डले बाबुरामलाई मात्रै होईन, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगपनि निरन्तर सम्वाद अघि बढाईरहेका छन्। सूत्रहरुले दिएको जानकारी प्रचण्ड यतिवेला बाबुराम, उपेन्द्र लगायतलाई समेटेर एमालेलाई काउन्टर दिनेगरि सशक्त मोर्चा बनाउने तयारीमा जुटेका छन् ।