काठमाडौँ, २५ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि आफूले पहल गर्ने बताएका छन् ।
पुस्तकालयको वार्षिक साधारणसभालाई आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो आश्वासन दिएका हुन् । उनले भने,“सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन मेरोतर्फबाट पहल हुन्छ।”
अध्यक्ष दाहालले भृकुटीमण्डलभित्रै पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन आफूले सरकारसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस्तो पुस्तकालयलाई आधुनिक प्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औँल्याए ।
विगत १५ वर्ष पहिले स्थापना गरिएको उक्त पुस्तकालयको भवन छैन । पुस्तकालयले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
साधारणसभामा नेपाली काँग्रेसका नेता एवं पुस्तकालयका अभियन्ता डा.नारायण खड्काले आम नागरिकलाई सहजरुपमा पठनपाठनका लागि पुस्तकालय स्थापना गरिएको बताए ।
उनले पुस्तकालयका लागि भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा पहल गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे