काठमाडौं, २७ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कुनै कन्जुस्याई गर्न नहुने बताएका छन् ।
सरकारले भारतसमक्ष राष्ट्रिय हितका कुरा प्रष्टसँग राख्न सक्नु पर्ने बताए । संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले रिस उठेको बेला उफ्रने र खुसी भएको बेला आत्मसर्मपण गर्ने शैली गलत भएको बताए । अतिथी देवो भवः भन्ने नेपाली संस्कार नै भएको भन्दै उनले मोदीको स्वागतमा कन्जुस्याई गर्न नहुने बताए ।
नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले भने, ‘मोदीलाई सिधै भने हुन्छ, महामहिम ! यहाँ हाम्रो कुर्सीमा बसेर नेपाल के चाहन्छ, बोल्नुस् । तपाईको दिल्लीको कुर्सीमा बसेर हामीलाई बोल्न दिनुस्, भारत के चाहन्छ ।’
अघि भने, ‘भारत के चाहन्छ, हामी पूरा गछौं । नेपाल के चाहन्छ, तपाई पुरा गर्नुस् । यत्ति भने पुग्छ ।’ उनले भारत र चीनसँग सन्तुलित सम्वन्ध नराख्दासम्म नेपाल समृद्ध हुन नसक्ने बताए ।
भट्टराईले मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोकेर जानुपर्ने बताएका छन् । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको प्रस्तावलगायत समग्र विषयमा समय मागेर बोल्दै उनले बजेट प्राथमिकताको आधारमा भन्दा पनि हिजोको निरन्तरताको गन्ध देखिएको धारणा राखे ।
सांसद भट्टराईले मुलुकमा नयाँ ढंगले बजेट अगाडि बढाएर प्राथमिकताका आधारमा कसलाई पहिलो प्राथमिकता दिने भन्ने किटान बजेटमा नगरिएको हुँदा त्यततर्फ ध्यान दिन आग्रह गरे ।