काठमाडौं, वैशाख २७ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले तराई क्षेत्रमा असिना–पानीले कृषिबालीमा पुर्याएको क्षतिलगायत समसामयिक राजनीतिक विषयहरु संसद प्रवेश गराए ।
तराईका क्षेत्रमा असिना–पानीका कारण धान, गहुँबालीलगायतका कृषि उपज नस्ट भएको हुँदा क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग थियो ।
उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको उल्लेख गर्दै नेपाल–भारत सीमामा देखिने समस्या, बाढी, डुबानलगायत विषयलाई उठाउन सरकारलाई सुझाव दिए ।
सांसद अमरेशकुमार सिंहले तराईमा आँधी, असिना–पानी आएका कारण धान, गहुँलगायत कृषिबाली नस्ट भएको हुँदा कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।
सांसद कृष्णभक्त पोखरेलले चितवनमा ठूलो मात्रामा केरा काटेर कृषकलाई दुःख दिने काम भएको र पछिल्लो समयमा हावाहुरीले बालीलाई क्षति पुर्याएको विषयतर्फ सरकारको ध्यान आकृष्ट गरे ।
विशेष समयमा बोल्ने अन्य सांसदहरुमा मोहन बानियाँ, लीलानाथ श्रेष्ठ, सञ्जयकुमार गौतम, महेश्वर गहतराज, दामोदर भण्डारी र अनिलकुमार झा पनि थिए । रासस