‘मोदीको सद्भावले प्रदेश दुईको विकासमा टेवा पुग्छ’
जनकपुर, २७, बैशाख । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि समग्र दुई नम्बर प्रदेशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल सरकारले विगतदेखि नै प्रदेश नम्बर दुईलाई उपेक्षा गर्ने गरेको आरोप लगाउँदै मुख्यमन्त्री राउतले मोदीको सहयोग र सद्भावले समग्र मधेशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘प्रदेश नम्बर दुई कमजोर छ । विगतको सरकारले केही पनि गरेन । मोदीको सहयोग र सद्भावले विकास हुनेमा आशावादी छौँ ।’–उनले भने । यद्यपी विकासका नीति र योजना भने आफूहरुले नै बनाउनुपर्ने उनको भनाई थियो ।
जनकपुरमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले मोदीको भ्रमण जनकपुरमा हुनु गौरवको कुरा भएको भन्दै प्रदेश सरकार र जनताले उक्त भ्रमणलाई पर्वको रुपमा लिएको र सोही अनुसार अहिले मनाईरहेको बताए । मोदीको अभिनन्दमा भोलि लाखौं जनता उत्रिने उनको दाबी थियो ।
त्यस्तै उनले भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री दुवैलाई जनकपुरमा भोलि भव्य स्वागत गरिने पनि जनाए । उनले भने,‘भोलि मोदी र ओलीको भव्य स्वागत हुन्छ, अहिले विकासमा मोदीको युग हो, नेपालमा मोदीको भ्रमणपछि विकास हुन्छ, कायापलट हुन्छ, भारतको सद्भाव र सहयोग अनिवार्य चाहिन्छ।’
फरक प्रसँगमा उनले पत्रकार धमलाले मधेशका हरेक एजेण्डामा पत्रकारितामार्फत साथ र सहयोग गर्दै आएकोमा प्रशंसा समेत गरे । ‘मधेशको एजेण्डाप्रति ऋषिजीको महत्वपूर्ण भूमिका रहँदै आएको छ, उहाँले पत्रकारितमार्फत यहाँका ज्वलन्त विषयवस्तुको उठान गर्नुभएको छ।’