Logo

प्रदेश नम्बर दुईको विकासका लागि एक अर्ब दिने मोदीको घोषणा



वैशाख २८, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् ।

दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका मोदीले आफूलाई गरिएको नागरिक अभिनन्दनका क्रममा सहयोग घोषणा गरेका हुन् ।

उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर यो रकममा बन्ने परियोजना छनोट गर्ने गर्नेछन् ।

जनकपुर जयनगर रेल यो वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको भन्दै उनले यसले नेपाललाई भारतको रेल सञ्जालमा जोड्ने बताए । रक्सौल काठमाडौं रेलका साथै जलमार्गबाट पनि नेपाललाई भारतलाई जोड्न चाहेको उनले बताए ।

प्रधानमन्त्री मोदीले ‘छिमेकी पहिलो’ भन्ने भारतको नीति रहेको र नेपाल पहिलो प्राथमिकतामा रहेको बताए । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाल अभियान आफ्नो सवका साथ साबका विकास अभियानसँग मेल खाने भन्दै यसलाई सफल बनाउन भारतले सहयोग गर्ने बताए ।

कार्यक्रममा उनलाई जनकपुर नगरको साँचो हस्तान्तरण गरिएको थियो भने मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समस्या राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्