वैशाख २९, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणलाई विभिन्न क्षेत्रका व्यक्तिहरुले आ–आफ्नै तरिकाले व्याख्या गरिरहेका छन् ।
नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले मोदीको नेपाल भ्रमणले विग्रिएको नेपाल–भारतसम्बन्धमा ठूलो सुधार भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै दीक्षितले प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा देखाएको तदारुकता र सम्वादहरूले दुई देशबीचको सम्बन्धमा सुधार हुने बताए ।
डा.दीक्षितले ओलीले नेपाल–भारतको सम्बन्ध सुधारका लागि कुनै कसर बाँकी नराखेको भन्दै केही तत्व भने सम्बन्ध विगारेर फाइदा लिन तल्लिन रहेको तर्क गरे ।
‘दुई मुलुकबीचको सम्बन्ध बिगारेर केही तत्वले फाइदा लिन चाहन्छन् । केपी ओलीले त्यस्ता तत्वहरूको योजनालाई बिफल बनाइदिनुभएको छ ।’ दीक्षितले भने ।
दीक्षितले ओली–मोदीको विरोध गर्नेहरू युरोपियन युनियनबाट सञ्चालितहरू रहेको आरोपसमेत लगाएका छन् ।
युरोपियन युनियनले नेपालमा धार्मिक असंहिष्णुता र द्वन्द्व निम्ताएर फाइदा लिन सक्रिय रहेको उनले बताए ।
रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी युरोपियन युनियनको पैसा खाएर गतिविधि गरिरहेको डा.दीक्षितले आरोप लगाए । ‘ओली–मोदीको युरोपियन युनियन र क्रिश्चियनहरूले विरोध गरेका हुन्’, उनले भने, ‘डलर र पाउण्ड धेरै खाएका पार्टीहरूले विरोध गरेको हो ।’
‘विवेकशील साझा पार्टीका नेताहरूको धेरै व्यक्तिको शरीर यहाँ मन विदेशमा छ’, डा.दीक्षितले भने, ‘हिन्दूत्व र वुद्धत्व तथा ओमकार परिवारलाई ठोक्नलाई युरोपियन युनियन आएका हुन् ।’
‘रविन्द्र मिश्रजीहरू कहाँबाट सञ्चालित छन् ? युरोपियन युनियनले नेपालमा प्रगति होइन धर्म परिवर्तन मात्रै चाहन्छ । तिब्बतलाई ठोक्ने योजना हो । हिन्दूधर्मलाई कमजोर बनाउन लागेको छ’, डा.दीक्षितले भने, ‘डलर खनाएर नेपालमा भाँडभैलो मच्चाउन चाहन्छन् ।’ हिन्दूधर्ममाथि आक्रमण गरेर युरोपियन युनियनले तिब्बतलाई ठोक्न चाहेको उनले बताए ।
निर्वाचनमा रविन्द्र मिश्रहरुको क्रियाकलापले विदेशीबाट सञ्चालित भएको पुष्टी भएको उनको दाबी छ ।
पूरा कुराकानी युटुबमा :