Logo

‘मोदीले विगतमा दुई वर्ष मुक्तिनाथ क्षेत्रमा तपस्या गरेका थिए’



वैशाख २९, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन् ।

योसँगै मोदी प्रधानमन्त्रीको हैसियतमा मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । मोदीलाई मन्दिरका मूल पुजारीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए ।

पूजा अर्चनापछि मोदीले १०८ धारामा जल शेचन गरेका थिए । मोदीलाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए । मोदीले योबीचमा मुक्तिनाथ मन्दिर परिसरमा झण्डै १ घण्टा बिताए ।

मोदीको मुक्तिनाथ दर्शनबारे जानकारी दिदै मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले सौहार्दपूर्ण रुपमा पूजा कार्यक्रम भएको बताए । मोदीको दर्शनलाई प्रकृतिलेसमेत साथ दिएको उनले बताए ।

सुरक्षा व्यवस्था र सरसफाइले गर्दा मुक्तिनाथ मन्दिर सुन्दर बनेको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सुवेदीले विगतमा पनि मोदी मुक्तिनाथ क्षेत्रमा लामो समय विताएको बताए ।

“विगतमा मोदीले यस क्षेत्रका प्रत्येक डाँडाँकाडा घुमेको, गुफा र कन्दरामा तपस्या गर्नुभएको भन्ने विशेष सुत्रबाट मलाई जानकारी आएको थियो ।” उनले भने ।

दुई वर्षसम्म मुक्तिनाथ क्षेत्रमा तपस्या गरेपछि उनको नाममा दामोदर दास थपिएको सुवेदीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्