Logo

तस्विरमा हेर्नुहोस पशुपतिनाथमा मोदीको विशेष पूजा



काठमाडौं, २९ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । मोदीले शनिबार बिहान विशेष पूजा–अर्चना गरेका हुन् ।

पशुपति क्षेत्र विकास कोषका बोर्ड सदस्य भगवती देवका अनुसार मोदीले करिब २५ मिनेटसम्म पूजा गरेका थिए । पशुपति मन्दिर परिसरभित्र रहेका ७ वटै मन्दिरमा पूजा गरेका थिए । मोदीले बन्द खाममा राखेर पूजारीहरुलाई दक्षिणा समेत दिएका थिए । पूजाका क्रममा उनले भारतबाटै ल्याएको प्रसाद अर्पण गरेका थिए । बोर्ड सदस्य देवले भने,‘उहाँले प्रसादहरु धेरै किसिमका चढाउनुभयो, प्रसादहरु उहाँले भारतबाट नै ल्याउनुभएको थियो ।’

उनले पहिले वासुकीनाथ मन्दिरमा र त्यसपछि पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन् । मोदीले परम्परा अनुसार पहिले वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष र त्यसपछि पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरेका हुन् ।

यी दुवै पूजाका सकेपछि पर्यटन तथा सँस्कृति मन्त्री रवीन्द्र अधिकारीले मोदीलाई पशुपतिनाथको प्रतिमा उपहार स्वरुप दिएर बिदाई गरेका छन् ।

त्यस्तै मोदीले सबै पूजारीहरुसँग हात मिलाएको र पूजारीहरुले पनि मोदीलई सामूहिक रुपमा आर्शिवाद दिएको उनले जनाए । मोदीले भुँईमा पलेटी कसेर पूजा गरेका थिए । २ दिने भ्रमणका लागि मोदी शुक्रबार नेपाल आइपुगेका हुन् । यसअघि मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति कोषका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।

मोदी अब केहीबेर हायात होटलमा सुस्ताउने र काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रियसभा गृहमा आयोजना गरिएको अभिनन्दन कार्यक्रम सकाएर मोदी त्यतैबाट स्वदेश फर्कने कार्यक्रम छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्